सुनचाँदी व्यवसायमा हुन सक्ने अबैद्य कारोवार र त्यसको निवारण सम्बन्धमा एक दिने सचेतना कार्यक्रम

 

 

बुटवल/
बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आयोजना तथा आन्तरिक राजश्व कार्यालय, बुटवलको सहयोगमा सोमवार बुटवलमा सुनचाँदी व्यवसायीहरुका लागि सम्पत्ति सुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सुनचाँदी व्यवसायमा बढ्दो अबैद्य सम्पत्तिलाई बैद्य बनाउने अभिप्रायले हुन सक्ने गतिविधिलाई रोक्न चाल्नु पर्ने कदम र सुनचाँदी व्यवसायलाई कानुन एवं नीतिभित्र रहेर सञ्चालन गर्ने प्रक्रियाका बारेमा छलफल गरिएको थियो ।


सो अवसरमा आन्तरिक राजस्व विभागबाट बहुमुल्य धातु वा वस्तुको कारोवार गर्ने ब्यवसायि (सुचक संस्था ) लाई जारि गरिएको निर्देशन २०७७ का बारेमा विस्तृत छलफल गरिएको थियो । त्यसक्रममा बहुमुल्य धातुको कारोवार गर्दा १० लाख भन्दा माथिको विक्रि र खरिदका बारेमा पहिचान खुल्ने गरि रेकर्ड राख्ने प्रावधान रहेका कारण त्यसकोा पालना गर्न सुझाव दिइएको थियो ।


कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत ध्रुव प्रसाद पाण्डे र कर अधिकृत सागर पोखरेलले छलफलका लागि विषयबस्तु प्रस्तुत गर्दै सम्पत्ति सुद्धीकरण तथा आंतकवादी क्रियाकलाप निर्देशिका–२०७७ मा रहेर काम गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख कर अधिकृत पाण्डेले कानुनका छिद्रहरुको खोजी गरि सुनचादी व्यवसायीमा कालो धनलाई सेतो बनाउने अभिप्रायले काम हुन नपावस भनेर सरकारले ठोस नीति र निर्देशिका बनाएको जानकारी गराउनु भयो । उहाले व्यवसायीहरुलाई निर्देशिकाको सहि पालना गरेमा कुनै समस्या नपर्ने उल्लेख गर्दै सुनचादी व्यवसायलाई मर्यादित बनाउने दायित्व व्यवसायीहरुको पनि भएको धारणा राख्नु भएको थियो ।
कर अधिकृत सागर पोखरेलले आन्तरिक राजश्व विभागले जारी गरेको निर्देशिकाको पालना गर्ने दायित्व व्यवसायीहरुको रहेको बताउदै निर्देशिका विपरित काम भएको पाइएमा दण्डजरिवाना हुने कुराको ख्याल गर्न आग्रह गर्नु भयो । उहाले अनुगमनका क्रममा व्यवसायीमा अध्ययनको कमीका कारण केहि कमीकमजोरीहरु भेटिएको हुदाँ त्यसलाई समयमा नै सुधार गर्न सुझाव राख्नु भएको थियो ।


संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष मिलन सुनारको स्वागतमा भएको कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, केन्द्रीय सदस्यहरु दिपक कुमार विक, मानबहादुर विक लगायत बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन सचिव चुरामणी विक दिपकले गर्नु भएको थियो ।
दुई चरणमा भएको कार्यक्रममा व्यवसायीहरुले राखेका जिज्ञासाहरुको उत्तर आन्तरिक राजश्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत ध्रुव प्रसाद पाण्डेले दिनु भएको थियो । कार्यक्रममा व्यवसायीहरुले आफुहरुले व्यवसायका क्रममा भोगेका समस्याहरुका बारेमा जानकारी गराउदै त्यसमा सहजिकरण गरिदिन आग्रह गरेका थियो । कार्यक्रममा बुटवल क्षेत्रका करिव १ सय सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो ।