रुपन्देहीका पत्रकार लोकनेश ढेगा सम्मानित

बुटवल, साउन २९ गते। स्व. पत्रकार दबहादुर पाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार लोकनेश ढेगा मगरलाई सम्मान गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीले २३ औं स्थापना दिवसको अवसर पारेर आइतबार पत्रकार ढेगालाई नगदसहित सम्मान गरेको हो ।
लामो समय पत्रकारितामा रहेका पत्रकार लोकनेश ढेगालाई लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना सम्मान गरेका हुन् । पत्रकार लोकनेश ढेगा मगरलाई रु ११ हजार १ सय नगदसहित सम्मान गरिएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले प्रकाशन गरेको डाइरेक्ट्री तथा पुस्तकसमेत २३ औं स्थापना दिवसको अवसरमा विमोचन गरिएको छ ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पत्रकारिता निष्पक्ष र विश्वासिलो हुनुपर्ने बताएका छन् ।
देशको समग्र परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउंदै पत्रकारितालाई थप शिर्जनशील बनाउनु पर्ने मन्त्री रानाको भनाइ छ ।
उनले पछाडी परेको समूदायलाई अगाडी बढाउने उद्वेश्यले लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको बताए।
संघीय लोकतान्त्रिक व्यवस्था सुन्दर व्यवस्था भएको दावी गर्दै यो व्यवस्थामा एकले अर्कोलाई सम्मान गर्दै सबैको अस्तित्व सबैले स्वीकारनु पर्ने मनत्री रानाको तर्क छ ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, फोनिज केन्द्रिय उपाध्यक्ष सरु राना, फोनिज रुपन्देही पूर्व अध्यक्ष मिलन गाहा, पुरस्कृत पत्रकार लाकनेश ढेगा मगर लगायतले बोल्नुभएको थियो। फोनिज रुपन्देही अध्यक्ष सोनु थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।