अंगे्रज सेनालाई हराएको खुशीयालीमा पाल्पामा विजयउत्सव

पाल्पा, भदौ ४ गते । नेपालले अंग्रेज सेनालाई युद्धमा जितेको खुशीयालीमा पाल्पाको तानसेनमा विजयउत्सव तथा भगवती रथयात्रा गरिएको छ । बुटवलको जीतगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशीयालीमा पाल्पाको तानशेनमा शनिबार भगवती यात्रा निकालिएको हो ।
शनिबार २०४ औं भगवती जात्रा पाल्पाको तानसेनमा मनाइएको हो । वि. सं १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पा नुवाकोट, बुटवल जीतगढी युद्धमा नेपालले अंग्रेजलाई पराजीत गरेको थियो । त्यही जितको खुशीयालीमा तानसेनमा विजयउत्सव स्वरुप भगवती जात्रा निकाल्न थालिएको हो ।
तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजीरसिंह थापाको नेतृत्वमा दुईपटकसम्म अंगेजसंग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो । कर्णेल उजीरसिंहले लडाईमा निस्किनु अघि अंग्रेज फौजसंग विजय प्राप्त गरे पाल्पामा रथयात्रा सहित भगवती जात्रा निकाल्ने छु भनी भगवती मन्दिरमा भाकल गरेको र विजय प्राप्त गरेपछि वि.स.१८७६ देखि कृष्णजन्माष्टमीको भोलिपल्ट विजयउत्सव मनाउन सुरु गरिएको थियो ।   
त्यसयता हरेक वर्ष विजयउत्सव मनाउन थालिएको थियो । शनिबार दिउसो १ बजे भगवतीको रथ उठाउने र ३ पटक मन्दिरको परिक्रमा गराई नेपाली सेना, प्रहरी र प्रशासकले श्रद्धापूर्वक पुजाआजा गरी तानसेन बजार परिक्रमा गराइएको भगवती गुठी व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्कीले जानकारी गराउनुभयो ।
विजय उत्सवमा तत्कालीन सयममा अग्रेजसंग युद्धमा खटिएको सबुज गणको पनि सहभागिता रहेको थियो । २ पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिर थापाले वि.स. १८७२ देखि ७६ सम्म गजुर सहितको ३ तले मन्दिर निर्माण पुरा गरेपछि वि.स. १९७६ सालदेखी बिजयउत्सव मनाउन थालिएको हो । तत्कालीन युद्धमा अग्रेज सेनाको नेतृत्व जनरल उडले गरेका थिए ।
जीतगढी युद्धमा नेपालसंग हारेपछि अंग्रेज सेनाका कमाण्डर जनरल उडलाई अग्रेज सरकारले कारवाही गरेको ईतिहासमा उल्लेख रहेको छ । कमाण्डर कर्णेल उर्जिरसिंह थापाको नेतृत्वमा पाल्पा नुवाकोट वुटवल जीतगढी क्षेत्रमा नेपाली सेनाको सुबुजगण, गरुवक्स गण, भवानीदल गण अग्रेजसंग युद्ध लडेका थिए ।
पाल्पा बुटवल जितगढी युद्ध नेपालको राष्ट्रियता स्वाधिनता र सार्वभौमिकतासंग गासिएकाले सरकारबाट यसलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने संस्कृतिविद् निर्मल श्रेष्ठले बताउनुभयो । लुम्विनी प्रदेश सरकारले भने तीन वर्षदेखि स्थानीय विदा दिदै आएको छ ।
कोरोना महामारीका कारण विगत २ बर्ष रोकिएको पाल्पा भगवती जात्रा यसवर्ष भने भव्यताका साथ रथयात्रा निकाएको थियो ।