ओभरलोड समान बोक्ने भारतीय गाडीको बिरोधमा ट्रक व्यवसायी आन्दोलनमा

श्यामलाल पोखरेल
बुटवल, पुस १ गते । ओभरलोड समान बोक्ने भारतीय गाडीको बिरोध गर्दै नेपाली टक व्यवसायी आन्दोलनमा उत्रने भएका छन् ।
ट्रक व्यवसायीका मागप्रति सरकारलाई पटक– पटक जानकारी गराउंदा पनि कुनै सुनुवाई नभएको भन्दै व्यवसायीले आन्दोलन चक्राउने चेतावनी दिएका छन् ।
नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार भैरहवामा बिरोध सभाको आयोजना गरी आन्दोलनमा उत्रत्रने बताएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्तरुपमा भैरहवा भन्सार कार्यालय अगाडी बिरोध सभा गरेका थिए ।
भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेशा नै संकटमा पर्न थालेकाले आन्दोलनमा उत्रनुको अर्को कुनै विकल्प नभएको ट्रक व्यवसायीले बताएका छन् ।
भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्न सरकारसंग माग गर्दै ट्रक व्यवसायीले ओभरलोड बोकेर भारतीय गाडीलाई नेपाल प्रवेश गर्नेै नदिने दावी गरेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले मालवाहक सवारीका लागि भाडादर तोके पनि ओभरलोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाएको बताए ।
भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको बताउंदै उनले भने– ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिष्प्रर्धा गर्न सम्भव हुदैन ।
बेलहिया नाका हुंदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिदा ट्रक व्यवसायीहरु मर्कामा परेको बताउदै ब्यवसायीले सीमा नाकामै भारतीय ट्रक रोक्नुपर्ने उपाध्यक्ष पोखरेल
बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले नेपाली ट्रक व्यवसायीलाई विस्थापित गर्ने गरी अब भारतीय ओभरलोड समान बोकेका भारतीय गाडिलाई नेपाल छिर्न नदिने बताउंदै भारतीय ओभरलोड गाडी नेपाल प्रवेशमा नरोकिदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ ।
यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउदैनन् ।  नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् ।
ओभरलोड बोक्ने भारतीय गाडीविरुद्व ट्रक व्यवसायीले लामो समयदेखि कुरा उठाएपनि व्यवसायीका कुरा तथा माग कुनैपनि सरकारले सुनेको अवस्था छैन ।