शान्ति नमुनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

रुपन्देही, पुस २९ गते । पन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजाना गर्ने भएको छ ।
रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव, सामीप्यता तथा आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जानकारी गराएका छन् ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता आगामी माघ ९ गते सोमबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१० हजार, द्वितीय हुनेलाई नगद रु. ७ हजार, तृतीय हुनेलाई नगद रु. ५ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताए ।