नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप –  पोखरेल

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

बुटवल, माघ १४ गते । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको आयोजना गरेको हो ।
सोही सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिका हस्तक्षेप बढेको बताउनुभएको छ ।नेपालको संसदबाट एमसीसी पास भएसंगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको दावी गरेका छन् ।
चीनका विरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गराएको उल्लेख गर्दै अब अमेरिकाले एसपीपी परियोजना पास गराउने दाउमा रहेको बताए ।


भारतका विरुद्व लड्न अमेरिकाले नेपालमा आफु अनुकुलको सत्ता चलाउन खोजेको नेता पोखरेलले दावी गर्दै भने – भारत र अमेरिकाको हस्तक्षेपबाट नेपाललाई जोगाउन आमराष्ट्रवादी नेपाली सचेत हुनुपर्छ ।
उनले संघीयता नेपालको लागि ठिक नभएको बताउंदै भारतको इसारामा ल्याईएको संघीयता असफल भैसकेको बताए ।
नेपाल जस्तो सानो र अल्पविकसित देश नेपालको आर्थिक अवस्थाले संघीयता धान्न नसक्ने दावी गरे ।

संघीयताका कारण देश आर्थिक र राष्ट्रियताको हिसावले कमजोर भैसकेको बताउंदै संघीयता खारेज नहुंदासम्म देशले निकास पाउन नसक्ने दावी गरे ।
उनले नेपालको नागरिकता नीति कठोर हुनुपर्ने बताउंदै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण भएकाले नेपाली अल्पमतमा पर्ने बताए ।
लुम्बिनी प्रदेश सांसद तारा थापाले मुलुकको राष्ट्रियताप्रति सत्तासनि दलहरु गमभीर नदेखिएको बताइन । उनले आफुलाई ठला भन्ने एमाले, माओवादी, कांगे्रस, राजावादी र जातीबादीहरुबाट गणतन्त्र खतरामा रहेको दावी गरिन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले मुलुकको राष्ट्रियता र स्वाभिमान बचाउन आमनेपाली नागरिक सचेत हुनुको अर्को कुनै विकल्प नभएको बताए ।
इन्द्रिरा ज्ञवालीको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा बुटवलमा कार्यक्रम भएको थियो ।