बुटवलको बुद्वनगर– नहरपुर सडक निर्माण शुरु
बुटवल, माघ १६ गते । बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश गरिएको छ ।
बुद्धनगरमा एक कार्यक्रमबीच नगर प्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गरेका छन् ।
सडक शिलान्यास गर्दै प्रमुख स्थानीयको साथमा सडक निर्माणको काम गरिने बताएका छन् ।
स्थानीयलाई लाभ हुने र पूर्वपश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम शुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुने गरी सडक विस्तार गर्न लागिएको नगर प्रमुख पाण्डेयले बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रुपमा अनुगमन गर्ने बताइन ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम शुरु भएको र यसले निरन्तरता पाउने बताए ।
वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले स्थानीयको आवश्यकता र मागलाई सम्बोधन गर्दै सडक निर्माण शुरु भएको बताए ।
२ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्ने गरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।
समझौता अनुसार तोकिएकै समयमा सडक निर्माणको काम सम्पन्न हुने निर्माण कम्पनीले प्रतिवद्वता जनाएको छ ।