इन्द्रज्योती समाजले विद्यालयलाई दियो १ लाख

 

 

बुटवल/ बुटवलमा स्थापित इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजले स्याङ्जा कालीगण्डकी गाउपालिकास्थित ध्रुवज्योती माध्यामिक विद्यालयको ४५ औं वार्षिकोत्सवका अवसरमा जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने उद्देश्यसहित विद्यालयलाई रु. १ लाख नगद सहयोग हस्तान्तरण गरेको छ ।
आफ्नो जन्मथलोमा रहेको विद्यालयलाई बुटवल निवासी ज्योतिलाल विकले आफ्नो श्रीमतिको सम्झनामा स्थापित इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजकोतर्फबाट सो रकम उनका छोरा दिपक कुमार विकले विद्यालयका हिराबहादुर गाहालाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा रकम हस्तान्तरण गरेपछि बोल्दै समाजका अध्यक्ष तथा छोरा दिपक कुमार विकले कल्याण समाजका तर्फबाट बार्षिक रुपमा प्रदान गरिने रु. एक लाखबाट गरिब, जेहन्दार, दलित तथा जनजाती विद्यार्थीलाई ८० प्रतिशत तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउन सफल शिक्षकहरुलाई २० प्रतिशत रकम छुट्याएर पुरस्कृत गर्ने गरि विद्यालयलाई जिम्मेवारी दिएको बताउनु भयो ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ महासचिब खिम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयको नबनिर्मित ४ कोठे भवनको प्रमुख अतिथिबाट उद्घाटन गरिनुकासाथै विद्यालयको बार्षिक नतिजाको पुरस्कार बितरण, अतिरिक्त क्रियाकलाप अन्तर्गतको विभिन्न फरक बिधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कालीगण्डकी गापालिका उपाध्यक्ष साबित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डे, जिल्ला समन्वय सदस्य भोज बहादुर दर्लामी, वडा अध्यक्ष सुन्दर प्रसाद अधिकारी, बिरेन्द्र माबिका प्रअ टिबि राना, इन्द्रज्योती बिश्वकर्मा कल्याण समाज बुटवलका अध्यक्ष दिपक कुमार विश्वकर्मा लगायत बोल्नु भएको थियो ।