धनको र मनको कुरा

रुपन्देही,बुटवल –११, मजुवाकी माया मगर महिनाको सुरूदेखि १० गतेसम्म किस्तामा व्यस्त हुन्छिन् । कतै बचत, कतै बचत तथा ऋण अनि ब्याजको जोहो गर्नलाई दौडधूप गरिरहन्छिन् । १० गतेपछि तनावबाट मुक्ति पाएको महसुस् गर्छिन् । आफ्नै गाउँ तथा टोलमा दिदीबहिनी भेला भएर खेलिने समुहमा किस्ता खेल्ने गरेकी हुन् । उनका अनुसार बैंक तथा सहकारीमा जस्तो धितो वा जमानत राख्नुपर्ने झन्झट् हुन्न । आपसी समझदारीमा सजिलै ऋण पाईन्छ ।

विगतदेखि बुटवलका टोल तथा बस्तीहरूमा विभिन्न समूह बनाएर मासिक शुल्क उठाई ऋण दिने खालका किस्ता खेलिने समुहहरू बढ्दो छ । ढुकुटी, आमा समूह, महिला समूह तथा विविध जातीय समाज लगायत थुप्रै समुह गठन गरि बचत संकलन र ऋण लगानी भइरहेको छ । समुहको लागि अध्यक्ष, कोषाध्यक्ष चुनिरहनु पर्दैन । एकजनाले खाता सम्हाले पुग्छ । ४० देखि एक सय जनासम्मको संख्यामा किस्ता खेलिने समुहमा ऋण लिएपछि प्रत्येक महिना २० प्रतिशतका दरले ब्याज बुझाउनु पर्दछ । ३ महिना पुगेपछि ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ऋण चुक्ता गरेपछि फेरि ऋण लिन पाईन्छ । अवस्था र संकलनका आधारमा एकजना सदस्यले एक लाखभन्दा बढी ऋण लिन सक्छन् छन् । समूह गठन गरेपछि एक वर्षे वा २ बर्षे अवधि राखिन्छ ।
सो अवधिमा ऋण लिनेहरूले ऋण चुक्ता गर्नुपर्ने हुन्छ । हिसाब गरेर सबैलाई आफ्नो बचत र ब्याजबाट नाफा भएको पैसा भाग लगाईन्छ । मासिक बचत गर्नाले घरखर्च र धेरै कामको गर्जो टार्न सहज हुन सक्छ । विश्वासका आधारमा खेलिएका किस्ता समुहमा जो कोही आबद्ध हुन सक्छन् । कोही कसैको जिम्मेवार हुनपर्दैन ।
महिनाको कुनै बार वा दिन समूह बस्छ । खाता सम्हाल्ने व्यक्तिले बचत र ब्याज दिनु पर्नेहरूको नाम बताउँछन् । उपस्थित जो कोहीले पैसा संकलन गर्न सक्छन् । मासिक बचत र ब्याज उठाएपछि ऋण लानेहरूको नाम लेखिन्छ । ऋण माग गरेका सबैलाई बराबर भाग लगाईन्छ । कसैलाई बढी समस्या परेको खण्डमा सम्झदारीमा बढी ऋण दिन सकिन्छ ।
किस्ता खेलिने समुहका असलभन्दा खराब प्रवृत्ति धेरै बढ्दै गईरहेको पाईन्छ । यस्ता अनाधिकृत समुहले गर्दा समुहमा ऋण लिने व्यक्ति कहिल्यै ऋणमुक्त हुन सक्दैन । महिनैपिच्छे ऋण लिएपछि निश्चित अवधिसम्म आईपुग्दा बचतभन्दा बढी ऋण पुगेको हुन्छ । ऋण तिर्न अर्काे समुहबाट ऋण लिनुपर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ । एकपछि अर्काे ऋण तिर्नुपर्दा ब्याजको स्याज तिर्नु परिरहेको हुन्छ । घर सल्लाहबिना ऋण निकाल्नेहरूको संख्या धेरै हुन्छन् । ऋण तिर्न नसकेपछि समुहमा ऋणीहरू आउन छाड्छन् । त्यसपछि समुहका सबै सदस्यहरू भेला भएर ऋणीको घरमा जानुपर्ने बाध्यता आउँछ । जसले गर्दा ऋणीको घरबार बिग्रन जान्छ । समुहबाट ऋण लिएर तिर्न नसकेपछि समाजमा बेईज्जत हुनुको साथै घरबार बिग्रेको उदाहरण थुप्रै छन् ।

केही महिना अघि बुटवल–११, बुद्धनगरकी सुमिना कार्की (परिवर्तित नाम) ले एउटा महिला समुहबाट ऋण लिएकी रहेछिन् । उनले तोकिएको अवधिमा ऋण नतिरेपछि महिला समुहले उनकै घरमा ऋण लगेको खबर पुर्याउँदा श्रीमानले थाहा पाएर बेस्सरी कुटपिट गरेछन् । सोही कारण छोडपत्र हुन पुग्यो । आपसी सम्बन्ध त बिग्रियो नै । पैसा नउठेपछि अन्य सदस्यहरूले घाटा बेहोर्नुपर्याे । आफुखुसी समझदारीमा खोलिएको समुहबाट ऋण लिएर नतिरेपछि प्रहरीमा उजुरी नलाग्ने रहेछ ।
त्यस्तै अर्की बिना नेपाली (परिवर्तित नाम) ले समुहबाट ऋण निकालेर तास खेलेर पैसा खर्च गरिछिन् । आम्दानीको बाटो नभएपछि उनले ऋण तिर्न सकिनन् । ऋण उठाउन जाँदा–खाएर भागेको छैन । एकदिन त दिईहाल्छु भन्ने रहेछिन् । न त उनलाई उजुरी गर्न मिल्छ न त पिट्न ।
समुहमा जसरी पनि तोकिएको अवधिमा ऋण चुक्ता गर्नुपर्ने भएपछि समाजमा बेईजत र घरबार बिग्रने डरले धेरैवटा समुहहरूबाट ऋण लिनेहरूको संख्या बढ्दो छ । ऋण मुक्त हुन त्यति सजिलो हँुदैन । ऋण लिनेहरू बाध्य भएर धेरैवटा समुहमा आबद्ध हुन पुग्छन् ।

कोरोनाले व्यापार व्यवसाय ठप्प भएसँगै विभिन्न किस्ता खेलिने समुहहरू बढिरहेका छन् । ऋण नतिरेर भाग्नेहरूका कारण समुहका सदस्यहरूले सास्ती भोग्नु परिरहेको छ । यस्ता क्रियाकलापहरू न चाहेर सजिलै रोक्न सकिन्छ न त यसको कुनै तत्कालीन समाधान नै छ । त्यसैले किस्ता खेल्ने दाजुभाइ दिदीबहिनीले ऋण लिएपछि त्यसको सही सदुपयोग गर्नाले आफैलाई सहज हुन सक्छ । किस्ता खेलाउनेहरूले सचेत भएर व्यक्तिहरूको विवरण हेरेर मात्रै समूह बनाएमा र ऋण लैजानेहरूले किन, केका लागि माग गरेका छन् ? ती सबै बुझेर ऋण प्रवाह गरेमा विकृतिहरू रोकिने छन् । अहिलेको बिग्रदो आर्थिक अवस्थालाई मध्यनजर गरी समुहमा ऋण लगानी गरेमा सबैलाई केही हदसम्म सजिलो हुनेछ ।
सकेसम्म यस्ता अवैधानिक समूहहरुमा सहभागी हुनुभन्दा दर्तावाल वा आधिकारिक संघसंस्थामा आवद्ध भएर आर्थिक क्रियाकलाप गर्नु कैयौंगुना हितकर हुनेछ । मनको कुरा र धनको अवस्था बुझ्न पक्कैपनि सजिलै सकिंदैन ।