शान्ति सम्झौता विपरित हुने गतिविधिविरुद्द माओवादी शक्ति एक ठाउं

बुटवल, फागुन २३ गते । विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिप्रति जनयुद्दकालीन माओवादी शक्ति एक ठाउंमा उभिएका छन् ।
माओवादी धारबाट अहिले फरक– फरक धारमा रहेका पार्टीहरुले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिविरुद्व एक ठाउंमा भएर प्रतिवाद गर्ने प्रतिवद्वता जनाएका छन् ।

पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेपछि जनयुद्धकालीन माओवादीका शीर्ष नेताहरुको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका छन् ।

‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्छ भन्नेमा एकमत भएको बैठकमा सहभागप् नेताहरुले बताएका छन् ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस्तै, विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

शान्ति सम्झौता अनुसार गठन भएको सत्य निरुपण तथा बेपत्ता नागरिक छानबिन आयोगको कामलाई प्रभावकारी बनाएर लैजाने विषयमासमेत बैठकमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

‘सङ्क्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दछौ ।

शान्ति सम्झौता र परिवर्तन विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्न आफूहरु एकमत रहेको बैठकले ठहर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालको बैठकमा सहभागिता रहेको थियो ।