राममणी क्याम्पसले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

बुटवल, फागुन २९ गते । रुपन्देहीको तिलोत्तमामा रहेको राममणी बहुमुखी क्याम्पसले आफ्नो ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको हो ।
सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शिक्षा क्षेत्रमा केही परिवर्तन आएपनि शैक्षिक संस्थाहरुमा अहिलेको माग अनुसारको शिक्षा अवलम्वन हुन नसकेको बताए ।
आवश्यकता अनुसारको उच्च शिक्षा दिएमा शिक्षा क्षेत्रको विकास हुने बताउंदै शिक्षा क्षेत्रको विकास गर्नुको अर्को विकल्प नरहेको नगर प्रमुख खांणले बताए ।
उनले शिक्षाको विकासमा त्रिभुवन विश्वविद्यालय,शैक्षिक संघसंस्थाका र तिनै तहका सरकार लाग्नुपर्नेमा जोड दिंदै उनले भने – देशमा दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आवश्यक छ ।

नगरप्रमुख खांणले राममणी बहुमुखी क्याम्पस तिलोत्तमाको गहना भएको उल्लेख गर्दै क्याम्पसको संरक्षण, शैक्षिक विकास र विस्तारको जिम्मेवारी नगरपालिकाले लिने प्रतिवद्वता जनाए ।
राममणी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष रोमणीप्रसाद पाठकले क्याम्पसको शैक्षिक गुणस्तर विकासका लागि सबैको साथ सहयोग र सुझाव सल्लाहा आवश्यक हुने बताए ।क्याम्पस अध्यक्ष धु्रवकुमार धितालले यस रामणि क्याम्पसले देशलाई चाहिने थुप्रै जनशक्ति उत्पादन गरेको बताउंदै गुणस्तरीय शिक्षाप्रति क्याम्पस दत्तचित्त भएर लागेको बताए ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख टेकराज अर्याल, एमाले तिलोत्तमा नगर अध्यक्ष तामानाथ पाण्डे, नेकपा माओवादी तिलोत्तमा नगर अध्यक्ष वेलप्रसाद शर्मा, चेम्बर अफ कमर्श लुम्विनी प्रदेशका महासचिव जेपी कंडेल, शान्ति नमूना माध्यामिक विद्यालयका अध्यक्ष शरद भट्टराई, पशुपति कलेजका प्रमुख कृष्णप्रसाद शर्मा, प्राध्यापक संघका सभापति राजेन्द्र थापा मगर लगायतले आआफ्ना भनाइ राखेका थिए ।

क्याम्पसले आफ्नो ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख स्वर्गाीय आनन्दप्रसाद पाण्डेको स्मृतिमा उनका परिवारले १ लाख ११ हजार १ सय ११ रुपैँयांको छात्रवृति कोष स्थापना गरेका छन् ।

शैक्षिक सत्र २०७८÷७९ मा उतीर्ण विद्यार्थी र खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य तथा कविता प्रस्तुत गरेका थिए ।त्यस्तै क्याम्पसका निवर्तमान अध्यक्ष र पूर्व सदस्यहरुलाई सम्मान गर्नुका साथै क्याम्पसको वार्षिक आयविवरण प्रस्तुत पुस्तकको १८ औं अंक दिपिकाको विमोचनसमेत गरियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालको अध्यक्षता,उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत र शिक्षक मुक्तिप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम भएको हो ।