मणिग्रामको शान्ति नमुना माविमा अभिभावक भेला

बुटवल, बैशाख ३० गते । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला भएको छ ।
कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको छ ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालय प्रशासन, शिक्षक, अभिभावकहरु बीचको कुशल संयोजनबाट मात्र विद्यार्थीको शैक्षिक प्रगती हुने बताउंदै विद्यालयका गतिविधिबारे जानकारी गराएका थिए ।


सहायक प्रधानाध्यापक किशोरकुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, माध्यामिक विद्यालय तहका संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिएका हुन् ।

कक्षा १० का संयोजक रजनी के.सीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो, भने शिक्षक दिनेश खड्काले कार्यक्रमको सहजिकरण गरेका थिए ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५ सय ७३ जना विद्यार्थीका अभिभावहकको सहभागिता रहेको थियो । अभिभावकले विद्यालयका लागि विभिन्न रचनात्मक सुझावहरु दिएका छन् ।