टिम्रारुखे माइला बाको वचन पूरा गरे – मोहनक्रिम
बुटवल, जेठ १० गते । टिम्रारुखे माइला बाको नाम डोरबहादुर थियो । उहाँको घर कौछेको हाम्रो घरभन्दा केही तल थियो । त्यो घरसित मेरो धेरै नै घनिष्टता र आवतजावत पनि थियो ।
माइला बाका एउटा भान्जा पनि हुनुहुन्थ्यो । उहाँको नाम तोजहादुर माझी थियो । उहाँसित मेरो धेरै घनिष्टता थियो । उहाँले र मैले केराको मादल बनाएर खेल्ने गर्दथ्यौँ । उहाँको घर अर्घाखाँचीमा पर्दछ ।
बाल्यकालदेखि उहाँसित मेरो लामो समयसम्म भेट भएन । करिब ७० वर्षपछि मैले उहाँलाई पत्ता लगाएँ र उहाँसित भेट पनि भयो । अहिले पनि अर्घाखाँची गएको बेलामा मैले उहाँलाई खोजेर भेट्ने गर्दछु ।
पिताजी खिमविक्रमका साथमा हिँड्ने मानिसहरूमध्ये दुई जनालाई मैले अहिले पनि सम्झन्छु । उनीहरूमध्ये एक जना टिम्रारुखे माइलाबा हुनुहुन्थ्यो भने अर्को कुर्लेखोलाका माइला दाइ, जसको नाम दुर्गाबहादुर थियो । पिताजीको कतै लडाइँ प¥यो भने उहाँहरू दुवै जना सबैभन्दा अगाडि हुने गर्नुहुन्थ्यो ।
हाम्रो सबैभन्दा जेठी एउटी दिदी हुनुहुन्थ्यो । उहाँको अर्घाखाँचीको झन्द्रेकमा विवाह भएको थियो । त्यो गाउँका केही फटाहहरूले हाम्रो ठुली दिदीको खेत जबर्जस्ती कब्जा गरिदिएछन् । त्यो झगडा परेपछि बुबा दलबलसहित झन्द्रेक जानुभयो । त्यो बेला दिदीको खेतमा धान काटेर झाँट्ने बेला भएको रहेछ ।
पिताजी दलबलसहित त्यहाँ पुगेको थाहा पाएर दिदीको खेत कब्जा गर्ने मानिसहरूले उहाँ (पिताजी) सँग खेतमा झगडा गर्न आए । उहाँमाथि आक्रमण गर्न भनेर ठुलो सङ्ख्यामा मानिस जम्मा गरेछन् तर धान झाँट्दासम्म उहाँ त्यहाँ जानुभएनछ र धान काटिसकेपछि त्यो धान ल्याउने भनेर दिदीको घरमा नै बस्नुभएछ । खेतमा धान झाँटिसकेपछि उहाँ धान लिन भनेर खेतमा जानुभएछ । प्युठानबाट गएका उहाँसित चार÷पाँच जना मान्छे मात्र थिए । उहाँ खेतमा आएको कुरा थाहा पाएपछि झगडियाहरू करिब १०० जना लाठीसहितका मानिस जम्मा गरेर खेत गएछन् ।
ती सबै मानिससँग लड्नका लागि पिताजीले आफूहरूसँग गएका मानिससित बसेर एउटा योजना बनाउनु भएछ । त्यो योजना खतरनाक थियो तैपनि उहाँ आफ्नो योजनाअनुसार १०० जना मानिससित लड्न कस्सिनुभएछ । त्यो योजनामा मुख्य भूमिका तिम्रारुखे माइला बाकोे नै थियो ।
पिताजीले पहिले नै गाउँबाट आफ्नासाथमा लकडिहात खेल्न सिपालु मानिस ल्याएर आएको भनेर हल्ला मच्चाउनु भएको थियो ।
खेतमा गएका बेलामा तिम्रारुखे माइला बा र कुर्लेखोलाको माइला दाइलाई दुईओटा ठुल्ठुला बासका लौरा समातेर कम्बल ओढेर बसाल्नुभएछ । दिदीका झगडियाहरू लड्नका लागि अगाडि सरेपछि पिताजीले गर्जेर भन्नुभएछ ः ‘यी सबैमाथि आक्रमण गर !’
त्यो सुन्नेबित्तिकै कम्बल ओढेर बसेका, कट्टु र कमिज मात्र लगाएका तिम्रारुखे माइला बा र कुर्लेखोलाका माइला दाइ कम्बल फालेर, उफ्रेर लट्ठी हल्लाउँदै निस्केछन् ।
उनीहरू दुवै जना अगाडि बढेपछि टिम्रारुखे माइला बाले कुर्र्लेखोला माइला दाइलाई समातेर उचाल्दै भुइँमा फालेर भन्नुभएछ ः ‘यी सबैलाई म एक जना भए हुन्छ ।’
त्यसपछि उहाँ लाठी नचाउँदै १०० जना मान्छेमाथि कुद्नुभएछ । त्यसपछि ती सबै मान्छे भागेर गएछन् । त्यसपछि पिताजीले दिदीका मान्छेलाई धान बोकेर घरमा लैजान भन्नुभएछ ।
पछि दिदीका झगडियाहरूले पिताजीका अगाडि आत्मसमर्पण गरेर खेत छाडिदिए । उनीहरूलाई दण्डजरिवाना गरेर पिताजी पैसा लगेर घर फर्कनुभएको थियो । त्यही पैसाले उहाँले भ्यागुतेको खेत किन्नुभएको थियो ।
झन्द्रेकको दिदीका झगडियाहरूसित लड्ने उहाँको योजना साँच्चिकै खतरनाक खेल थियो ।
उहाँ आफ्नो जिल्ला र गाउँबाट बाहिर जानुभएको थियो । उहाँले गाउँमा आफ्ना जुन मानिसले लकडिहात खेल्न सिपालु भएको हल्ला मच्चाउनु भएको थियो, त्यो पनि सत्य थिएन । त्यो अवस्थामा त्यो लडाइँमा उहाँका हातखुट्टा भाचिने वा ज्यानै जानेसमेत खतरा थियो, जुन टिम्रारुखे माइला बाले उहाँको योजनाअनुसार सय जनाजति मान्छेसित लड्नका लागि कस्सिएर आफ्नो ज्यानको बाजी लगाउनुभएको थियो ।
उहाँसित नै पछि पिताजीको के कारणले हो ? मलाई थाहा भएन, धेरै नै रिसाउनुभयो र तिम्रारुखेको घरजग्गा उहाँले आफ्नो नाममा गराउनुभयो । त्यसपछि उहाँ (टिम्रारुखे माइला बा) कौछेको आफ्नो घरजगगा छाडेर परिवारसहित बाङ्गेमा कुनै ठाउँमा बस्न जानुभयो ।
म सानै छँदाको कुरा हो, म आफ्ना केही साथीहरूसहित कौछे खण्डको जङ्गलमा गएको थिएँ । त्यही बेला त्यहाँ ठुलो पानी प¥यो । त्यहाँ ओतिने कुनै ठाउँ पनि थिएन । जाडोले म लगलगी काम्न थालेँ । त्यहाँको जङ्गलमा कतैबाट टिम्रारुखे माइला बा पनि आइपुग्नुभएको थियो । उहाँले त्यहाँ झारपात र झिँजाहरू खोजेर आगो लगाउनुभयो र हामी सबैले आगो ताप्यौँ । त्यही बेला उहाँले आँखाभरि आँसु झारेर पिताजीले उहाँको घरजग्गा कब्जा गरिदिएको र उहाँ घरजग्गा छोडेर बाङ्गेतिर जानुपरेको कुरा बताउनुभयो । उहाँले मलाई बुबालाई भनेर त्यो जग्गा दिलाइदिन भन्नुभयो ।
त्यो बेला म राजनीति वा कम्युनिस्ट पार्टीमा पनि सामेल भएको थिइनँ । त्यही पनि उहाँको जवाफमा मैले यो भने ‘हुन्छ’ तर त्यो बेला मलाई थाहा थिएन ः आफ्नो त्यो प्युठानको किसान आन्दोलनको बेलामा मैले जुन किसानका जग्गा फर्काइदिनको लागि पत्र लेखेर पठाएको थिएँ, तिनीहरूमध्ये एउटा वचन पूरा गर्न मलाई कति धेरै समय लाग्ने छ ? त्यसका लागि कति धेरै सङ्घर्ष गर्नुपर्ने छ र त्यसको अन्तिम परिणाम के हुने छ ?
पछि प्युठानको किसान आन्दोलनको सन्दर्भमा मैले पिताजीसित त्यो जग्गा फर्काइदिनका लागि कुरा गरेँ तर उहाँ मसित रिसाउनुभयो र मेरो कुरा मान्नुभएन । प्युठानको किसान आन्दोलनको बेलामा मैले जुन जुन किसानका जग्गा फर्काइदिनको लागि पत्र लेखेर पठाएको थिएँ, तिनीहरूमध्ये एउटा टिम्रारुखे माइला बाको घरजग्गाको कुरा पनि थियो । पछि अरू कतिपय किसानका जग्गा फर्काउने काम हुन सक्यो तर टिम्रारुखे माइला बाको घरजग्गा फर्काउने काम हुन सकेको थिएन ।
जुन दिन मैले पिताजीसित अन्य कतिपय किसानका साथै टिम्रारुखे माइला बाको घरजग्गासमेतको कुरा उठाउँदा उहाँ रिसाउनुभएको थियो र उहाँ र मेराबिचमा झगडा पनि परेको थियो, त्यो दिन सम्भवत साउने सङ्क्रान्तिको दिन थियो । त्यो दिन हाम्रो घरमा खसी काटेर मासु पकाउने काम भइरहेको थियो ।
पिताजीसित झगडा परेपछि म भात नखाइकन घरबाट बाहिर निस्केँ । त्यो दिन म अरू कसैका घरमा पनि गइनँ र दिनभरि केही नखाइकन जङ्गलमा बसेँ ।
म घरबाट खाना नखाइकन निस्केपछि पिताजीले पनि खाना खानुभएनछ । पिताजीले खाना नखाएपछि आमाहरूले पनि खाना खानुभएनछ ।
त्यहीबिचमा २०१७ साल लाग्यो । म जेलमा परेँ । पिताजीको मृत्यु भयो ।
पिताजीको मृत्युपछि चारओटी आमा र आठओटा दाजुभाइको बिचमा अंशवण्डाको काम सुरु भयो ।
घरमा अंशवण्डाको काम हुँदा म कपिलवस्तु जेलमा थिए । अंशवण्डाको काममा मेरो प्रतिनिधित्व का. खगुलाल गुरुङ, का. खिमानसिंह गुरुङ र मास्टर दधिराम शर्माले गर्नुभएको थियो ।
मैले जेलबाट नै अंशवण्डा गर्दा तिम्रारुखे माइला बाको घरजग्गा मेरा अंशमा पारेर त्यो घरजग्गा उहाँले फर्काइदिनू भनेर चिठी लेखेर पठाएको थिएँ । हाम्रो पार्टीका साथी, आमा र दाजुभाइले समेत मलाई मात्र मर्का पार्नु उचित नठानेर सँगोलबाट नै त्यो घरजग्गा फर्काइदिने सल्लाह गर्नुभएछ । त्यसपछि टिम्रारुखे माइला बा र उहाँको परिवार एउटा लामो समयपछि त्यो घरजग्गामा फर्केर आएर बस्नुभयो ।
म जेलबाट छुटेर आउँदा टिम्रारुखे माइला बाको मृत्यु भइसकेको थियो तैपनि यो सोचेर मलाई सन्तोष र खुसी लागेको थियो कि कौछेखण्डको जङ्गलमा मैले उहाँलाई दिएको वचन पूरा भएको थियो ।