होटल सञ्चालनका लागि बुटवलका घरधनीले घरभाडा घटाए

बुटवल, जेठ १४ गते । होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घरभाडा घटाउन अभियान सञ्चालन गरेको छ । संघले केही महिना अघिदेखि घरभडा घटाउन अभियान सञ्चालन गरेको हो ।

कोरोना र आर्थिक मन्दीका कारण व्यवसाय नचलेपछि घरभाडा तिर्न समस्या भएको भन्दै संस्थागत रुपमा बुटवलका होटल तथा रेष्टुरेण्ट व्यवसायीले घरभाडा घटाउन अभियान सञ्चालन गरेका हुन् ।

घर भाडा घटाउन अभियान चलाएर संघले घरधनीहरुलाई आग्रह गरेपछि बुटवलका केही घरधनीले घरभाडा घटाएका छन् ।
होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष लेखनाथ भण्डारीले अहिलेसम्म १९ जना घरधनीले घरभाडा घटाई दिएको जानकारी गराएका छन् ।


घरभाडा घटाउने अभियान चलाएपछि घरधनीहरुले सहज रुपमा २० देखि ४० प्रतिशतसम्म घरभाडा घटाई दिएको अध्यक्ष भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार महङो घरभाडा तिर्न नसकेर अहिलेसम्म बुटवल क्षेत्रबाट ४ देखि ५ प्रतिशत होटल तथा रेष्टुरेण्ट व्यवसायी विस्थापित भएका छन् ।

आर्थिक मन्दिका कारण विस्थापित हुन लागेका व्यवसायीलाई केही राहत दिने उद्वेश्यले संघले घरभडा घटाउनका लागि अभियान चलाएको हो ।
घरभाडा घटेपछि होटलका कोठाको रेट र खानाको रेट पनि घट्ने होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले बताए ।

रुपन्देहीमा होटल तथा पर्यटन व्यवसायमा नीजि क्षेत्रको ३० खर्व भन्दा बढी लगानी भएको संघका वरिष्ठ उपाध्यक्ष खनालले जानकारी गराए । घरभाडा घटाउन संघले अभियान चलाएपछि १० प्रतिशत होटल व्यवसायीका घरधनीहरुले घरभाडा घटाई दिएका छन् ।

संघका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता र महासचिव अर्जुन थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कोराना महाकमारी, आर्थिक मन्दी र प्रदेश राजधानी बुटवलबाट दाङ सरेपछि होटल व्यवसायदेखि सबै व्यवसायमा मन्दी आएपछि बुटवलमा चहलपहल घटेको व्यवसायीहरुको भनाइ छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ  रुपन्देहीले  पत्रकार स्वष्तिक श्रेष्ठलाई पे्रस सल्लाहाकारमा नियुक्ती गरेको छ ।