शिक्षामा सुधारको माग गर्दै अनेरास्ववियुले बुझायो ज्ञापन पत्र
बुटवल, असार १२ गते । एमाले निकट अनेरास्ववियु बुटवलले शैक्षिक क्षेत्रमा भएको विकृतिलाई सुधार गर्न माग गर्दै बुटवल उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुटबल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेलाई अनेरास्ववियुले मंगलबार ज्ञापन पत्र बुझाएको हो ।
अनेरास्ववियु बुटवल उपमहानगरका अध्यक्ष रोसन घिमिरेले संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशत नघट्ने गरी आर्थिक बिपन्न, अपाङ्गता महिला, दलित, जनजाति र लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी छनौट भइसकेपछि तिनको आधार, शर्त र प्रक्रियाबारे सार्वजनिक गर्नुपर्ने ब्यवस्था अनुसार छात्रवृत्तिको विवरण सार्वजनिक गर्नुपर्ने अनेरास्ववियुको माग छ ।
सार्वजनिक शिक्षाको सवलीकरणका लागि शिक्षण संस्था मार्फत् एक शिक्षण संस्था, एक उद्यम कार्यक्रमलाई सञ्चालनका लागि एक शिक्षण संस्था एक उद्यम कार्यविधि २०७९ अनुसार ंशिक्षण संस्थामार्फत् सामाजिक रुपान्तरण गर्ने, शिक्षण संस्थालाई उद्यम गर्ने सिकाइको विकास गर्नुपर्ने र गुणस्तरीय शिक्षा हुनुपर्नेलगायतका माग राख्दै अनेरास्ववियुले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझदै बुटबल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अनेरास्ववियुले उठाएका माग जाहेज रहेको बताउंदै कार्यान्वयनमा जाने प्रतिवद्वता जनाउनुभयो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य साजन भण्डारी, रुपन्देही उपाध्यक्ष भरत अर्याल, उपाध्यक्ष रमेश ढकाल, तिलोत्तमा नगर अध्यक्ष सरोज खनाल लगायतको सहभागिता थियो ।
संस्थागत विद्यालयहरुले निःशुल्क पढाउनुपर्ने व्यवस्था भएपनि विभिन्न शीर्षकमा मनपरी शुल्क असुल गरिएको अनेरास्ववियुको आरोप छ ।