आमाको सम्झना

मोती केसी

दारिमचौर पाखाको थारे घर
त्यो गाई चराउने रनबन् ।
न्याउली चरीको न्याउल न्याउल गीत
हुङगाढ खोलाको साउने संगीत
सुन्दै, सुन्दै आफैंलाई समाल्दै ।
मेरी संघर्षशील हिम्मती आमाले
जिन्दगीका पन्ना पल्टाउँदा पल्टाउँदै
कोखबाट काखमा आए म
एक थपिएँ दुःखमा,
जहाँ एक माना पिठोको अभाव थियो
एउटा टालोको कमी थियो ।
हुन त आमाका आशा किरण अपार हुन्छन्
एक सन्तान उपर
वहाँले नी तेस्तै सपना देख्नु भो होला ।
मनमा उर्लेको खुसी र यथास्थिति द्वन्द बीचबाट,
उहाँको परिश्रम निरन्तर बगी रह्यो झिम्रुक जस्तै
अविरल जीवन पर्यन्त !!
मेरी साहसी संघर्षशील आमा
पहाड देखि तराईसम्मको कर्म थलो
पिठ्युँमा बैनी र हातले मलाई डोराउँदै डोर्याउदै
ढाकर बोकेको मेरो दाइको
पदचाप पच्छौदै पच्छाउँदै ।
उहाँ कै भरोसामा
संघर्षलाई शिरोधार्य गरी
बसाई सराईको त्यो ३ दिने ढाक्रे बाटो
हौसला दिँदै, दिँदै पुराउनु भो ददेरी !
आफन्त छोडेर आएको एक्लो जीवन
सहारा विहिन, अत्यास लाग्दो
हामी भुराभुरीको बाल इच्छा
हामीले नदेख्ने गरी रनबन् कति रुनु भो होला !
तथापि
ठाडो हुन्जेल कहिल्यै थाक्नु भएन
त्यही प्रेरणाले म डटीरहे
कर्ममा अविचलित खटिरहे
मेरी आमाको गर्वशिल मिहिनेत
प्रेरणादायी शाहस सम्झेर नतमस्तक छु !!
जय माते नन्दा देवी ।
२०८०÷०४÷२९
चन्द्रौटा, कपिलवस्तु ।