स्वास्थ्य क्षेत्रमा रुपन्देहीको सियारी अब्बल बन्दै

बुटवल, भदौ २२ गते । रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ । पालिकावासीले महसुस हुनेगरी पालिकाले स्वास्थ्य क्षेत्रमा काम भएको तथ्यांकले देखाएको छ ।
पालिकाले सियारी गाउँपालिका भित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण जेष्ठ नागरिक, अशक्त र अपाङ, (क र ख) परिचय पत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घर घरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हालसम्म १ हजार ५ सय जना नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको पालिकाले बताएको छ ।

सियारी गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण नागरिकलाई उपचारका लागि रगत तथा रगतजन्य वस्तुलाई निःशुल्क बनाएको छ । पैसाको अभावमा कसैले पनि रगत नपाएर अकालमा ज्यान गुमाउन नपरोस भनेर नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीसँग समन्वय गरी निशुल्क रुपमा रगत पाउने प्रक्रियालाई प्रभावकारी रुपमा अगाडि बढाईएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनका अनुसार गत बर्ष २ सय ३९ जनालाई निःशुल्क रगत उपलब्ध गरिएको छ ।

अध्यक्ष घिमिरेले आम नागरिक स्वस्थ भएमात्र समाज र राष्ट्र स्वस्थ हुने भन्दै स्वास्थ्य क्षेत्रमा थुप्रै जनतामैत्री कार्यक्रम लागु गरिएको बताए ।
गाउँपालिकाले गत बर्ष गाउँपालिका भित्रका ९ हजार ६ सय ७७ जना सुत्केरीहरूलाई सुत्केरी पोषण सामग्री र पोषण खर्च निःशुल्क रुपमा सेवा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन ।

उनका अनुसार गाउँपालिका भित्रका सम्पूर्ण गर्भवती महिलाका लागि फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरण गरिएको छ ।
त्यसैगरी सियारी गाउँपालिका भित्रका गर्भवतीहरूका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवा मार्पत निःशुल्क भिडियो एक्स रे सेवा सुचारु समेत गरिएको छ ।
त्यस्तै गाउँपालिका भित्रका गर्भवती, सुत्केरी, नवशिशु, जेष्ठ नागरिक, अशक्त र अपाङ्ग‘ (क र ख) लाई निःशुल्क एम्बुलेन्स सेवा र ल्याब सेवा सञ्चालन गरिएको छ । उक्त सेवाबाट हालसम्म धरै जनाले लाभ लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

गत बर्ष ९ सय ३४ जना मोतियाबिन्दुका बिरामीले निःशुल्क अप्रेशन सेवा लिएका छन् । पालिकाले श्री रण अम्बिका शाह आखा अस्पतालको सहकार्यमा मोतियाबिन्दुका बिरामीको निःशुल्क अप्रेशन सेवा सञ्चालन गरिएको गाउँपालिकाका सुचना अधिकृत माधव खनालले जानकारी दिए ।
उनले उक्त कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको बताए । आर्थिक बर्ष २०८०÷०८१ को लागि श्री रणआम्बिका शाह आखाँ आस्पताल, भैरहवासंग सम्झौता गरि आस्पतालको सहकार्यमा सियारी गाउँपालिका भित्रका सम्पूर्ण मोतियाबिन्दुका बिरामीलाई निःशुल्क अप्रेशन सेवा सञ्चालन गरिएको छ ।
सियारी गाउँपालिका भित्रका सम्पूर्ण ५ वर्षमुनिका बालबालिकाहरूको नियमित रूपमा तौल अनुगमन र आमा समूहको बैठक सञ्चालनको लागि बजेट बिनियोजन गरिएको छ ।

सियारी गाउँपालिकाले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासगंै मानसिक स्वास्थ्य सेवा सञ्चालनको सुरूवात, औषधी व्यवस्थापन र स्वास्थ्यकर्मीलाई तालिम पश्चात सेवा सुरू गरी ९ सय ३९ जना बिरामीलाई निःशुल्क सेवा सञ्चालन गरिएको छ ।
त्सैगरी सियारी गाउँपालिका भित्रका ९ सय ७० जना महिला स्वास्थ्य स्यवंसेविकालाई मासिक भत्ता, यातायात खर्च र स्वास्थ्य बिमा सेवा प्रदान गरिएको पालिकाले जनाएको छ ।