चलचित्र गुल्मेली दाइको सो रुपन्देहीमा

बुटवल, असोज ३० गते । चलचित्र गुल्मेली दाइको रुपन्देहीको मणिग्राममा च्यारिटी सो गरिएको छ । मंगलबार चलचित्र देखाइएको हो । विहान र दिउंसो गरी दुई पटक देखाइएको चलचित्र गुल्मेली दाई हेर्न स्थानीयको सहभागिता थियो ।

सामाजिक कथालाई समेटेर बनाइएको चलचित्रले समाजलाई सकरात्मक सन्देश दिएको सोनु थापाले बताए । केशव गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र गुल्मेली दाइमा स्वयमं केशव गुरुङं, अनुता गुरुङ, उषा फौजामगर, खिम रेस्मी मगरको मुख्य अभिनय रहेको छ । तिलक गाहामगरले निर्माण गरेको चलचित्र गुल्मेली दाइको छायांकन गुल्मीको जुभुङ, दह लगायतका विभिन्न रमणीय ठाउंमा गरिएको निर्देशक केशव गुरुङले जानकारी गराए ।

चलचित्रमा अश्रिम गुरुङले संगीत रहेको छ, भने नृत्य निर्देशन गोविन्द राई र प्रेम गुरुङको छ । मनिराज गुरुङको पटकथामा बनेको चलचित्रमा करन तुलाधरले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको छायांकन तथा सम्पादन मनिष पन्थले गरेका छन् ।
यसअघि गुल्मीका विभिन्न ठाउंहरुमा प्रदर्शन गरिएको चलचित्र गुल्मेली दाइ दर्शकले रुचाएको निर्माण पक्षको दावी छ । चलचित्रमा सामाजिक परिवेश र पहाडी गाउंका कथा र सामग्रीहरु कलात्मक ढंगले उतारन प्रयास गरिएको छ ।