अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

 

 

दाङ/दाङमा प्रहरीले एक राउण्ड गोली लोड गरि राखेको अवस्थामा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । अवैध हातहतियार बोकी सर्वसाधरणलाई त्रसित पार्ने काम गर्दै आएका रोल्पा रुन्टिगढी गाउँपालिका वडा नम्बर ९ सखी घरभै हाल घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी २५ बर्षीय इन्द्रकमल बुढामगरलाई शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाका आधारमा घरमा खानतलासी गर्दा घरमा राखेको रा ५ प ८७६२ नम्वरको स्कुटीमुनि रातो प्लाष्टिकभित्र लुकाईछिपाई राखेको अवस्थामा एक राउण्ड गोलीसहित बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बुढामगरलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको थियो ।प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेको व्यक्ति विगतमा पनि ज्यान मार्ने उद्योगमा साढे दुई बर्ष कैद सजाय पाएको व्यक्ति भएको बताए । २०७० बैशाख २५ गते साने घर्तिलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घट्नामा उक्त व्यक्तिले दुई बर्ष ६ महिना कैद सजाय भुक्तान गरेको बताए ।

उक्त घट्नामा मुलुकी अपराध (संहित) ऐन २०७४ को परिच्छेद ६ को दफा १३२ को उपदफा १ बमोजिमको कसुर गरेकोमा सोही दफाको उपदफा २ बमोजिम ५ बर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।।