हाटबजार व्यवसायीको निःशुल्क स्वास्थ्य परिक्षण

बुटवल, फागुन २९ गते । हाटबजार व्यवसायी संघ रुपन्देहीले आफ्ना व्यवसायीलाई निः शुल्क स्वास्थ्य परीक्षण गराएको छ । संघले बुटवलको मेडिटेक अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण गराएको हो ।

स्वास्थ्य शिविरमा बोल्दै संघका संस्थापक अध्यक्ष बाबुराम पोखरेलले व्यवसायसंगै स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउंदै नियमित स्वास्थ्य परिक्षण गरेर ढुक्क रहन आग्रह गरेका छन् । सेवामुखी हाटबजार व्यवसायलाई थप प्रभावकारी बनाएर उपभोक्ताको मागको ख्याल गरी व्यवसायलाई जनमुखी बनाउनुपर्नेमा जोड दिए । मेडिटेक अस्पतालका अध्यक्ष जेपी कंडेलले अस्पतालले सामाजिक उत्तरदायित्वका कामहरु नियमित गर्दै आईरहेको बताउंदै संघसंस्थाहरुको माग अनुसार हरेक ठाउंमा नि–शुल्क स्वास्थ्य शिविरका लागि सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् ।

अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले अस्पतालले व्यवसायीको स्वास्थ्य चेकजाँचसंगै ल्याब, एक्सरे र भिडियो एक्सरे निःशुल्क परीक्षण गरिएको बताए । हाडजोर्नी विशेषज्ञ चिकित्सक डा. गोपाल ज्ञवालीले स्वास्थ्यको पहुंच बढाउन स्वास्थ्य कार्यक्रमहरुलाई प्रभावकारी बनाउने बताए ।

कार्यक्रममा संघका अध्यक्ष हुमाराम पोखरेलले संघमा आबद्ध सदस्यहरुलाई सुविधा दिनका लागि हरेक प्रकारका रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिहेने प्रतिवद्वता जनाए ।
हाडजोर्नी रोग विशेषज्ञ डा. गोपालप्रसाद ज्ञवाली, फिजिसियन रोग विशेषज्ञ डा. ज्ञानहरि मरासिनी, महिला तथा प्रसुतिरोग विशेषज्ञ डा. विनिता सुवेदी, रेडियोलोजिष्ट डा. ज्ञानचन्द्र पौडेललगायतका विशेषज्ञ डाक्टरहरुको टोलिले स्वास्थ्य परिक्षण गरेको थियो ।

एक दिने उक्त निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८० जना व्यवसायीले स्वास्थ्य चेकजाँच गराएका थिए । सम्झौता अनुसार संघका सदस्यहरु उपचारका लागि अस्पताल पुगेमा औषधि बाहेकका सेवामा ७ देखि २० प्रतिशतसम्म छुट गर्ने संघ र अस्पतालवीच सहमती भएको छ ।
सम्झौतापत्रमा संघका अध्यक्ष हुमाराम पोखरेल र अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले हस्ताक्षर गरेका छन् ।