आम्दा अस्पतालको कार्यकारी निर्देशकमा डा. विनोद पराजुली

स्वास्थ्य सेवाप्रति जवाफदेही बन्छु डा. पराजुली

बुटवल, फागुन २९ गते । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालको कार्यकारी निर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुली नियुक्त भएका छन् । २ वटा कार्यकाल निर्देशक भएका डा. राजेन्द्र बस्यालको अवधि सकिएसँगै पराजुलीलाई कार्यकारी निर्देशक पदमा नियुक्ती गरिएको आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले जानकारी गराएका छन् ।
पराजुलीलाई २ वर्षका लागि निर्देशकमा नियुक्त गरिएको हो । डा. पराजुली यसअघि एक कार्यकाल आम्दा अस्पतालको निर्देशक भएर काम गरेका थिए । १९९८ बाट सुरु भएको आम्दा अस्पताल सार्वजनिक नीजि साझेदारीको संयुक्त पहलमा बुटवल उपमहानगरपालिका, उद्योग वाणिज्य बुटवल र जापानको संस्था आम्दा नेपालले सञ्चालन गर्दै आएको छ । अस्पतालले बालबालिका र महिलाको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
नवनियुक्त कार्यकारी निर्देशकमा डा. विनोद पराजुलीले अस्पतालमा कार्यरत रहंदासम्म नागरिकको स्वास्थ्यप्रति जबाफदेही भएर स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्दता जनाएका छन् ।