आफ्नै प्रतिबद्दता र दायित्व भुलेर लोक रिझ्याईंमा भुलेका मेयर

   सरोज न्यौपाने 

२०७९ जेष्ठ १२ गते बालेन शाह ६१ हजार ७६७ मतसहित  बालेन ।  महानगर प्रमुखमा निर्वाचित हुँदा सिंगै देशले गौरव गरेको अनुभूत गर्न सकिन्थ्यो । त्यसमा बालेनका लागि भोट माग्ने र उनको पक्षमा पैरवी गर्ने हामीलाई उत्साहित बनाइरहेको थियो । व्यक्तिगत रूपमा बालेनका लागि भोट माग्नेक्रममा मैले दुइटा तर्क गर्ने गर्थें । एउटा, नेवा र सम्भ्रान्त समुदायबाट मात्रै अहिलेसम्म उमेदवार उठाउने जिताउने परिपाटी भत्काउन गैरसमुदायको प्रतिनिधित्वका रूपमा बालेन आउनुपर्छ । दोस्रो, मौजुदा राजनैतिक दल सुध्रिन नचाहेको र अहिलेसम्म बेइमानी हुँदै आएकोले हामीले गैर–राजनैतिक पृष्ठभूमिको हिसाबले पनि बालेन नै आउनुपर्छ । निर्विवाद, गैर–समुदाय र गैर–राजनैतिक व्यक्तित्वका हिसाबले बालेन शाह काठमाडौं महानगरको प्रमुखको सबैभन्दा योग्य उमेदवार थिए । यही मनोविज्ञानकै कारण मतदाताहरूले पनि मत बदले, युवाहरूले समर्थन गरे र असाधारण बहुमतसहित महानगर प्रमुखमा बालेन विजयी बने ! देशका मुख्य मुख्य नेताहरूले पनि बिना कुनै आनाकानी, बिना कुनै विलम्ब बधाई र शुभकामना दिए ।बालेन सहितका नयाँ र स्वतन्त्र उमेदवारहरूको विजयले लोकतन्त्रलाई सुन्दर र परिस्कृत मात्रै बनाएन सिंगै देशलाई अपनत्व ग्रहण गराउन सफल भयो !

तर, यो उत्साह मेरो हकमा ६ महिना पनि टिक्न सकेन । यो कुरा केवल मेरो हकमा मात्रै लागू हुँदैन । उनलाई चुनाव जिताउने सुकुम्बासीबस्ती उनको निशानामा प¥यो ! सडकपेटीको माध्यमबाट जीविकोपार्जन गर्दै आएको पीँधको बर्गमाथि दमन र ज्यादती मात्रै भएन, करीब ८० हजारको संख्यामा विस्थापित नै हुनुपर्यो । काठमाडौंको फोहोरको दीर्घकालीन समाधानका सन्दर्भमा कुनै ठोस प्रगति भएन, बरू, उल्टै प्रहरीको स्कटिङमा बञ्चरेडाँडामा लगेर थुपार्ने काम भयो । ट्राफिक अस्तव्यस्तता घटेन, झनै बढेर गयो । सडकका खाल्डाखुल्डी जस्ताको त्यस्तै छन्, पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने नियती बदलिएन । बिजुलीको पोल र तारको हालत तन्नम छ । सार्वजनिक सौचालयतर्फ एउटा पनि नयाँ काम भएन । महानगरको सेवाग्राहीलाई अनलाइन र डिजिटल सुविधा दिने प्रतिबद्धता पुरा गर्नेतर्फ भन्दा अनिश्चित बनाउँदै लैजानेतर्फ उद्धत भयो । निजी अस्पताल र निजी शिक्षण संस्थाहरूमाथि कुनै पनि किसिमको नियमन हुन सकेन, बरु, मनोमानी बढेर गयो । महानगरले देशको संघीय राजधानी र मुख्य सहरलाई व्यापार र उद्योगमैत्री बनाउनेतर्फ गएन, बरू, यसलाई आतंकित बनाउँदै लगिएको छ । निजी क्षेत्रलाई सँगसँगै लिएर जाने, उनीहरूलाई सहभागी बनाउने र मनोबल बढाउने होइन, पुरै निशेध गर्ने र हतोत्साहित बनाउनेतर्फ महानगर अग्रसर भयो । यी र यस्ता हजार कारणहरूले बालेन शाहको शासकीय चरित्र ठीक नभएको निष्कर्षमा पुग्न सकिन्छ । त्यसैकारण, यसलाई सच्याउन र सुधार गर्न आग्रह गरेको हो । तर, बालेन शाहमा महानगरको सत्तारोहणले अहंकार र स्वेच्छाचार प्रवृत्ति बढाउँदै लग्यो । बालेन शाह  साँगुरो दायरामा रमाउन थाले । सामाजिक संजालको सस्तो लोकप्रियतामा बरालिन पुगे । जसलाई सबैभन्दा बढी  सरकार चाहिन्छ, गरीब, असहाय, बेरोजगार, भूमिहीन र सुकुम्बासीप्रति असाध्यै असहिष्णु र नकारात्मक हुँदै गए । सकारात्मक सुझाव र आलोचनालाई सुन्नै चाहेनन् । यसले बालेन शाहलाई बोकिरहने बाध्यताबाट मुक्त बनायो भन्दा अन्यथा हुनेछैन ।

टिममा÷सामुहिकतामा काम गर्नै नचाहने, संघीय सरकार नमान्ने, अदालत–संसद–दल कसैलाई नटेर्ने संकी मानसिकता बढ्दै गयो । लुइस चौंधौं जस्तो मनै राज्य हुँ “क्ष् बm तजभ कतबतभ“ भन्ने जस्तो खतरनाक चरित्र देखाउन थाले । यसले बालेनले निर्वाचनमा प्राप्त गरेको सचेत, बौद्धिक र प्रबुद्ध वर्गको सद्भाव गुमाउन पुगे । आज बालेनसँग वरिपरि कस्ता मान्छे छन्, छर्लङ्ग छ । उनीसँग आज दुइटा मात्रै कुरा छन् । एउटा साइबर स्यालहरू । अर्को, डोजर ! यो भन्दा बढी बालेनसँग अर्को योग्यता छैन । शक्ति छैन । जहाँबाट सबैभन्दा धेरै मत प्राप्त गरे सुकुम्बासी बस्ती, असन, ईन्द्रचोक, न्यूरोडजस्ता क्षेत्रहरूमा बालेन शाहका विरुद्धमा नाराजुलुस हुन थालेको छ । न्यूरोडमा त महिनौंदेखि “बालेन मुर्दावाद“ लेखिएको पोस्टर टाँसिएको छ । यी बलिया दृष्टान्त हुन्, जसले बालेन शाहका विरुद्धमा जनमत बढिरहेको देखाउँछ । जुन अनिवार्य बनिसकेको थियो ।

कार्यशैली सच्याउन नचाहने, जनताको कुरा नसुन्ने, उनीहरूको सहभागिता मन नपराउने र उल्टै उनीहरूमाथि दमन गर्ने शासक मेरो पुस्तालाई त चाहिएको छैन । हामीलाई असल सेवक चाहिएको हो, जसले हरबखत जनतातिर फर्कियोस्, जनताको कुरा सुनोस् ।

बालेन शाह एउटा प्रवृत्तिका रूपमा विकास हुँदै  गएको देखिन्छ । त्यसलाई एउटा तप्काले अनुमोदन गरिरहेको पाइन्छ । त्यसैकारण उनले आफ्नो क्षेत्राधिकार बाहिर गएर राजनैतिक मुद्दामा समेत फैसला सुनाउन थालेका छन् । ८० हजार गरिब, विपन्न र सुकुम्बासीलाई लखेटेर गिरिबन्धु टि स्टेटको फैसला सुनाउने कुरा हास्यास्पद छ, आलोच्य छ ।  प्रश्न गर्न पाइन्छ, मुद्दा उठाउन पाइन्छ  ! तर, प्रश्न जायज हुनुपर्छ, औचित्यपूर्ण र सान्दर्भिक हुनुपर्छ । र, सहि समयमा सहि नियतले उठाएको हुनुपर्छ । आग्रह र कुण्ठा राखेर होइन, दुर्भावनाबाट प्रेरित भएर होइन । ईगो र हठबाट माथि उठेर महानगर र महानगरबासीको हितमा हुनुपर्छ । आफ्ना प्रतिबद्धता र आफ्नै दायित्व भुलेर आफ्नो अकर्मण्यता र अयोग्यता लुकाउन कसैमाथि पनि प्रश्न गर्न पाइन्न, हिलो छ्याप्न पाइन्न ।

 

सक्रियतापूर्वक सामाजिक संजालको प्रयोग गर्न थालेको १० वर्ष भयो । ठीक त्यति नै समय स्थानीय, जिल्ला र केन्द्रीय समितिहरूमा रहेर सक्रियतापूर्वक विद्यार्थी राजनीति पनि गरियो । र, त्यसपछिका केही वर्षहरूमा स्वतन्त्र रहेर आफ्नो कुरा राख्दै आइएको छ । यो क्रममा प्रशंसा थोरै, प्रश्न धेरै गरियो । त्यसो त शासकहरूलाई प्रश्न मन पर्दैन । आलोचनात्मक चेतका साथ, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण सहित हरेक व्यक्ति र विषयमा सापेक्षतामा टिप्पणी गर्दै आइयो । यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि बहालवाला प्रधानमन्त्रीका रूपमा प्रचण्ड, ओली, देउवा, खिलराज रेग्मी, बाबुराम भट्टराई, झलनाथ खनाल, माधव नेपालहरू समेतको आलोचना र विरोध गरियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अहिलेका राष्ट्रपतिका कामकारबाहीका सन्दर्भमा पनि प्रश्न, आलोचना र विरोध गरियो नै । हरेक सरकार, सरकारका मन्त्रीहरू, पार्टी र पार्टी सत्ता हाकिरहेका नेताहरू, स्थानीय तहको नेतृत्व सबैलाई ठीक त्यही तरिकाले प्रश्न, खबरदारी र आलोचना–बिरोध गर्न डराउनु परेन । जतिसुकै शक्तिशालीमान्छेहरूलाई पनि मुद्दामा, कार्यशैलीमा यसरी नै प्रश्न र आलोचना गरि नै रहियो । तर, काठमाडौं महानगरका प्रमुख बालेन शाहमाथि कुनै पनि प्रश्न गर्न बर्जित छ । आलोचना र बिरोध त परको कुरा ! तथानाम गाली र धम्की आउँछ । ती तुच्छ गाली र धम्की सहनुभन्दा कैयौंपटक आफ्नो टिप्पणी नै हटाउनुपरेको छ ।

 

दुःख मात्रै लाग्दैन, आश्चर्य लाग्छ ! प्रश्न नै गर्न नपाउने, प्रश्न भन्दा माथिको बालेन शाह को हो ? आलोचना र बिरोध जनाउनै नपाउने, खबरदारी गर्नै नपाउने बालेन शाह जनताको प्रतिनिधि  हो कि साशक ? यस्तो असहिष्णु, असभ्य र तुच्छ तप्काको बीचबाट नेता बनिंदैन । मेयर सा’ब, नेताबन्न बिराट सोंच र फराकिलो दायरा चाहिन्छ । र, राजनैतिक संस्कार र चरित्र चाहिन्छ । महत्त्वाकांक्षा कार्यकारी प्रधानमन्त्रीको राख्ने, तर, अदालतको मानहानी गर्ने, दलहरूको अवमूल्यन गर्ने, नेताहरूप्रति असहिष्णु बन्ने, प्रश्न गर्नेहरूलाई देखि नसहने ! यसरी कहिँ पनि पुगिँदैन, यो ओरालो यात्राको संकेत हो ।बालेन शाहले यति चाँडै नेपाली राजनीतिबाट आफ्नो सान्दर्भिकता गुमाएको दारुण दृश्य हेर्ने रहर कसैको पनि छैन । तर, उनी आफ्नो कर्म र कार्यशैलीका लागि जिम्मेवार छन् । जिम्मेवार हुनुपर्छ, जिम्मेवार बनाइनेछ !

 

हाम्रा नेता हुन् या जनप्रतिनिधि, उनीहरूले बुझ्ने मुख्य कुरा उनीहरूको आयु हो, त्यसको सान्दर्भिकता हो । खासगरी जनप्रतिनिधिहरू आउने बाटो भनेको निर्वाचन हो । कुनै इतिहास र विरासत नभएको मान्छे काठमाडौंको मेयर बन्यो, त्यो पनि सर्वाधिक मतसहित ! यसको पनि निश्चित आयु छ, संविधानले त्यसको आयु किटान गरेको छ । ५ वर्षसम्म राम्रो गरे, पुनः जनतामा जाने अनुमोदित हुने । र, फेरि बाघदरबार फर्किने ! आज जसरी आफ्नै प्रतिबद्धता र दायित्व बिर्सेका दिन सिनामंगलस्थित आफ्नै निवासमा फर्किने ! जनताको कुरा रणनीतिक हुँदैन, कुटनैतिक पनि हुँदैन ! प्रष्ट छ र प्रष्ट हुनुपर्छ ।

 

बालेनहरूले आफू आएको बाटो बिर्सेर बरालिए भने त्यो स्वयं उनीहरूलाई नै प्रतिउत्पादक हुनजान्छ । इतिहास फर्केर हेरौं, जनताको तागतमा शक्तिमा आएकाहरू बाटो बिराउँदाको दिन जनताकै तागतले मिल्काइन्छन् । त्यसमाथि निर्वाचन प्रणालीबाट आएकाहरूको आयु त एकदमै कम हुन्छ । चुनावबाट आएका त्यस्ता धेरै अहंकारी र स्वेच्छाचारी शासक जनताको तागतले माटोमा मिलाइएका धेरै उदाहरण छन्, केवल जित–हारको मात्र प्रश्न होइन ! यसतर्फ आफ्नो दायित्व, स्तर र प्रतिबद्धता बिर्सेर लोकप्रियताको हावामा उडिरहेका बालेनलाई कसैले बेलैमा सम्झाइदियोस्, ता कि धेरै माथिको उचाईबाट खस्दा बढी क्षति बेहोर्नुपर्छ । उनलाई चुनाव जिताउने र मेयर बनाउने मान्छे यिनै हुन्, जमिन यही हो । र, धरातल पनि यही हो !