गुल्मी पुर्कोटको पृथ्वी माविमा कांग्रेस र एमालेको लडाइ

गुल्मी, असार २२ गते । गुल्मीको मदाने पुर्कोटदहको पृथ्वी माध्यमिक विधालयको व्यवस्थापन समिति सदस्य चयनका लागि कांग्रेस र एमालेले प्यानल खडा गरी चुनाव लडेका छन् । शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यालयलाई दलीय राजनीति मुक्त बनाउने घोषणा गरेकै अवस्थामा गुल्मीको पुर्कोट दहमा भने धिालयमा राजनीति छरपष्ट भएको छ ।

विधालय व्यवस्थापन समितिका चार सदस्यका लागि भएको चुनावमा नौ जना उम्मेदवार छन् । कांग्रेसबाट कुमारविक्रम थापा, टीकाबहादुर कुंवर, कृष्णकुमारी श्रेष्ठ, कमला विक र विष्णुमाया विक उम्मेदवार छन् । एमालेबाट माया बिसी (केसी) र चित्रा कुंवर छन् । वसन्त कुंवर र विकास श्रेष्ठ कांग्रेसकै भएपनि फरक मतसहित उम्मेदवारी दिएका छन् । कांग्रेस समर्थक उम्मेदवार धेरै भएकाले पार्टीभित्रै विवाद छ भने एमालेले वसन्त र विकासलाई समर्थन गरेर अगाडि बढाएको हो ।

कांग्रेस मदाने गाउं कार्यसमिति सभापति महेन्द्रबहादुर कुंवरले विद्यालयजस्तो क्षेत्रमा राजनीतिक आग्रह वा पूर्वाग्रह राखेर अहिलेको स्थिति आएको र दुःखद भएको बताए । सहमतिको प्रयास भएपनि पार्टीका जिम्मेवार नेताकै कारण सम्भव नदेखिएको उनले बताए ।

एमाले मदाने गाउं कमिटी अध्यक्ष प्रेम केसीले भने विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा पार्टीको कुनै संलग्नता नरहेको दाबी गरे । यहां १९ असारमा चुनाव भएको थियो । तर, मतगणनामा पनि विवाद निम्तिएको छ । विवाद समाधानका लागि सदरमुकामस्थित शिक्षा विकास तथा समन्वय एकाइले मतपेटिका झिकाएको छ ।

व्यवस्थापन समितिका पदाधिकारी चयनअघि सदस्य छनोट गरिन्छ । खुला दुई र महिला दुई गरी चार सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् ।
७५ मतगणना भएपछि सदर र बदर मतमा विवाद सिर्जना भएकोे मतदान अधिकृत अमर केसीले जानकारी दिए । चुनावमा चार सय २० मत खसेको थियो ।

निर्वाचित चारसहित एक वडा प्रतिनिधि, एक सदस्यसचिव, एक शिक्षक प्रतिनिधि र दुईजना वडा शिक्षा समितिले मनोनीत गरी नौ जनाको विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था छ ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले उम्मेदवार र स्थानीय सरोकारवालासँग समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताए ।