नेपाल शिक्षक संघ तिलोत्तमाको कम्प्युटर तालिम समापन


बुटवल, असोज ५ गते । रुपन्देहीको तिलोत्तमा नेपाल शिक्षक संघले आयोजना गरेको कम्प्यूटर तालिम सकिएको छ । तालिममा सहभागीता जनाउन इच्छुकहरु मध्येबाट छनौटमा परेका २० जना शिक्षक कर्मचारीलाई १० दिने तालिम सञ्चालन गरिएको थियो ।

शान्ति नमुना माविको प्राविधिक सहयोगमा भएको तालिमको सहजिकरण संघका उपाध्यक्ष अमर डिसीले गरेका थिए । तालिम समापन कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कुलप्रसाद लामिछानेले परिवर्तित समयमा प्रविधिमैत्री तरिकाले बालबालिकाको सिकाई उपलब्धि बढाउन सकिने बताए ।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष रुपकुमार रायमाझी, संघका तिलोत्तमाका पूर्व अध्यक्ष खेमराज पाण्डेय, तालिम संयोजक खेमानन्द चापागाई, प्रशिक्षार्थी जमुना रिजालले प्रविधिमैत्री सिकाईका सन्दर्भमा आआफ्नो अनुभव राखेका थिए ।

संघले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि दशै तिहारको बिदापछि उद्घोषण तालिम लगायतका कार्यक्रम गर्ने जनाएको छ ।
नेपाल शिक्षक संघ तिलोत्तमाका नगर अध्यक्ष प्रचण्ड जीसीको अध्यक्षता र संघका नगर सचिव दिनेश खड्काको सञ्चालनमा तालिम समापन कार्यक्रम भएको थियो ।






















