सदुपयोग सहकारीको वार्षिक साधारण सभा


बुटवल, असोज १२ गते । बुटवलमा सञ्चालित सदुपयोग बचत तथा ऋण सहकारीले आफ्नो १६ औं वार्षिक साधारण सभा गरेको छ । बुटवलको देवीनगरमा रहेको मणिमुकुन्द कलेजमा सहकारीको शनिबार १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सोही वार्षिक साधारण सभामा बोल्ने वत्ताले सहकारीलाई सही ढंगले सञ्चालन गर्नका लागि सबैले सहकारीका सिद्वान्त पालना गर्नुपर्ने बताए । उनीहरुले सहकारीको लगानी सही ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई बचत रकमको विषयमा ढुक्क बनाउनु पर्ने उनीहरुले बताए ।
उक्त कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताए । केही सिमित सहकारीका कारण राम्रो काम गरिरहेका सहकारीलाई गलत नजरले हेर्न नहुने उनको भनाइ छ । उनले सहकारीलाई सही ढंगले चलाउन र आफ्नो बचत रकम कस्तो ठाउंमा लगानी भएको छ भन्नेबारेमा शेयर सदस्यहरुलाई जिम्मेवार हुन हाग्रह गर्दै बाहिरका सहकारीहरुलाई रुपन्देहीमा कार्यालय खोलेर चलाउन दिन नहुने र स्थानीय तहहरुले त्यसका रोक लगाउनु पर्नेमा जोड दिए ।
सदुपयोग बचत तथा ऋण सहकारीका अध्यक्ष कमल अर्यालले आफुले नेतृत्व गरेको सहकारीको लगानी सही ठाउंमा लगानी भएको र सहकारीमा कुनै समस्या नभएको बताए । उनले सबै शेयर सदस्यहरुलाई आफ्नो सहकारीबारे चिन्ता र चासो बढाउन आग्रह गरे ।

मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षत्रीले आफु पनि सहकारीबाट ठगिएको बताउंदै रुपन्देही बाहिरबाट आएका सहकारीले बचत रकम अपचलन गरेपनि सदुपयोग सहकारी लगायत अन्य यहांका स्थानीय सहकारीमा त्यो समस्या नभएको बताए ।
सहकारीका कोषाध्यक्ष ढकबहादुर टण्डनको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मिना रेश्मीको लेखा प्रतिवेदन पारित भएको छ । सहकारीको वार्षिक साधारण सभाको अवसरमा असल ऋणी, सदस्य संख्या बढाउने असल शेयर सदस्य, एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष कमल अर्यालको अध्यक्षता, सचिव प्रकाश चापागाईको सञ्चालन र उपाध्यक्ष नारायणी शर्मा अधिकारीको स्वागतमा वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।






















