ढाकावाङ्गका कृषकलाई मौरीसहित सामाग्री वितरण


टेकराज भुसाल
अर्घाखाँची, बैशाख ३ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषक सहकारी संस्थाले मौरी पालक किसानलाई मौरी सहित आवश्यक सामाग्री वितरण गरेको छ । मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले वितरण गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले कृषकहरुलाई मौरीसहित आवश्यक सामाग्री वितरण गरेका हुन् ।
वितरण गर्दै नगरप्रमुुख झविलाल थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न कृषकलाई आग्रह गर्दै व्यवसायीक रूपमा मौरी पालन किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सीमित स्रोतका बावजुट कृषकको ५०% र नगरपालिकाले ५०% अनुदान दिएर मौरीसहित आवश्यक सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा नगरउपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली, योजना शााखा प्रमुख हरिश्चन्द्र भुसाल लगायतले बोल्दै मौरी पालन पेसा सहजै जस्तो भएपनि किसानले चरनको समस्या झेल्ने गरेको बताए । मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि बालीमा कडा खालका विषादी प्रयोग घटाउन पर्नेमा जोड दिए ।
सहकारीमा आबद्ध करिब १ सय कृषकलाई भूमिकास्थान नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपर सहित माहुरी घार, ४२५ थान मह प्याक गर्ने प्लाष्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, ३०० थान लेवलिङ छपाई, स्टयाण्ड लगायतका सामाग्री वितरण गरिएको र वितरणपूर्व किसानलाई दुईदिने तालिमसमेत दिएको अध्यक्ष भुवानन्द भुसालले जानकारी गराएका छन् ।
अनुदानमा मौरी सहित सामाग्री पाएसँगै मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरी पालन व्यवसायलाई थप प्रवद्र्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष बुद्धिबहादुर थापा, १ का अध्यक्ष गोपालप्रसाद खनाल, ८ का अध्यक्ष राजकुमार श्रेष्ठ लगायतका जनप्रतिनिधि, कर्मचारी र कृषकको उपस्थिति रहेको थियो ।






















