बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता सुरु

सात प्रदेशबाट करिव ३ सय उत्कृष्ट खेलाडीहरू सहभागी

 

 

बुटवल, ६ असार ।
नेपाल हाप्किडो संघको आयोजनामा बुटवलमा “दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” सुरु भएको छ । प्रतियोगिताको एक समारोहकावीच शुक्रवार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्दघाटन गर्नु भयो ।
सो अवसरमा बोल्दै उपाध्यक्ष आचार्यले खेललाई समाजका हरेक गतिविधिहरुसंग जोडेर अगाडी बढाउन सकेमा मात्र सफलता हात लाग्ने बताउनु भयो । उहाले खेलको अभिन्न अंग विधि र अनुशासन भएको बताउदै त्यसलाई आत्मसाथ गर्न खेल क्षेत्रमा लागेका सबैलाई आग्रह गर्नु भयो ।
उहाले खेल क्षेत्रमा बढ्दो निराशालाई तोडेर अगाडी बढ्ने र विद्यालयस्तरमा खेललाई जोड्नका लागि नियमित खेल प्रतियोगिताहरु आयोजना गर्नु पर्ने सुझाव राख्नु भयो । उपाध्यक्ष आचार्यले खेलकुद परिषदको वर्तमान नेतृत्व खेल क्षेत्रमा भत्किएको विधि र अनुशासनलाई ट्रयाकमा ल्याउन लागि परेको जनाउदै विधिमा नचल्ने खेल संघहरुलाई कुनै प्रकारको सहयोग नहुने जानकारी गराउनु भयो ।
सो अवसरमा नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष काली बहादुर घर्तीमगरले प्रतियोगिताको उद्देश्य खेलाडीहरूलाई निरन्तर अभ्यास गराउदै क्षमता अभिवृद्धि, राष्ट्रीयतासंग जोडेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीको छनौट गर्नु रहेको बताउनु भयो ।
उहाले कुनै पनि युवाहरुका लागि खेल मात्र सम्पूर्ण नभएको हुदा शिक्षा र समाजसंग जोडिदै हरेक क्षेत्रको नेतृत्व लिने दिशामा आफुलाई उभ्याउनु पर्ने कुरा जोड दिनु भयो । अध्यक्ष घर्तीले हाप्किडो संघले खेल संस्कृतिको प्रवद्र्धनसंगै राष्ट्रिय एकता, अनुशासन र शिक्षा जोड दिदै आफ्ना गतिविधि गर्दै आएको बताउनु भयो ।


उद्धघाटन कार्यक्रममा राखेप बोर्ड सदस्य हिमाल श्रेष्ठ, मदनभण्डारी स्र्पोटस एकेडेमीका उपाध्यक्ष देव बहादुर कुँवर, एथ्लेटिक्स प्रशिक्षक मोहन घले, हाप्किडो संघका महासचिव इन्द्र बहादुर महरा लगायत बोल्नु भएको थियो ।
कार्यक्रम नेपाल हाप्किडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षता तथा सङ्घकी कोषाध्यक्ष विजया कुमारी वाइवाले सञ्चालनमा भएको थियो ।
प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट भएर आएका करिव ३ सय उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहेको छ । शनिवारसम्म चल्ने प्रतियोगितामा फाइटिङ, सेल्फ–डिफेन्स तथा हाई फल÷लङ फल जस्ता प्रमुख इभेन्टहरू अन्तरगत क्याडेट, जुनियर तथा सिनियर डिभिजनमा पुरुष तथा महिलाका विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा गराइने छ ।