उधारो असुल गर्न कानुन आवश्यक – श्रेष्ठ

बुटवल, चैत ७ गते । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई सम्बोधन हुने गरी नीति कार्यक्रम बनाउनु पर्ने बताएका छन् । उनले उधारोमा भएको कारवारले उद्योगी व्यवसायीलाई निकै अफ्ठ्यारोमा पारेको बताउँदै उधारो असुली हुनेगरी कानुन आवश्यक पर्ने बताए ।

शनिबार तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको सम्पन्न १२ औं वार्षिक साधारण सभामा बोल्दै कृषिको व्यवसायिक विकास र कृषिजन्य कच्चा पदार्थमा आधारिक औद्योगिक विकास हुनुपर्छ भने । उद्योगी व्यवसायीका लागि चुनौती धेरै रहेको बताउँदै चुनौतीका सामना गरेर औद्योगिक विकास तथा निजी क्षेत्रको प्रवद्र्धनका लागि आफू र आफ्नो टिमले काम गर्ने आश्वासन दिए ।
उनले झण्डै दुई तिहाइ नजिकको जनमत प्राप्त गरेको रास्वपालाई निर्वाचनमा गरेका वाचा कार्यान्वयन गर्न सुझाब दिंदै उनले भने अब बन्ने सरकारले नीजि क्षेत्रका भावना बुझेर काम गरे साथ सपोट रहन्छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले नीजी क्षेत्रका समस्याप्रति तिलोत्तमा नगरपालिका सधै सकरात्मक रहेको बताए ।नगर प्रमुख खांणले उद्योगी व्यवसायीका समस्यामा स्वयम् उद्योगी व्यवसायीले आवाज उठाउन आग्रह गरे ।
खुला सिमाको फाईदा उठाएर पारी जाने उपभोक्ताको वानी परिवर्तन गर्न आवश्यक रहेको बतांदै नगर प्रमुख खांणले भने –प्रहरी प्रशासनले गर्ने ज्यादतीले भारतीय पर्यटक तथा सरकारको औद्योगिक नीतिले लगानीलाई निरुत्साहित गरेको छ ।
उद्योग स्थापना गर्दा ७० प्रतिशत खुला राख्नुपर्ने र ३० प्रतिशतमा जमिनमा मात्रै भवन निर्माण गर्नुपर्ने प्रावधानले उद्योगीलाई निरुत्साहित गरेको औंल्याउँदै तिलोत्तमा नगरपालिकाका त्यसलाई संशोधन गरेर ५०÷५० प्रतिशतका प्रवाधान बनाइएको जानकारी गराए ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले औद्योगिक नीति झण्झटीलो रहेको बताउंदै अब बन्ने सरकारले लिने नीतिले उद्योग व्यवसायको भविश्य निर्धारण गर्ने बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अब बन्ने सरकारले नीतिगत सुधार गरेर सहयोग गर्ने बताए । उनले नीजि क्षेत्र कमजोर भए देशको आर्थिक अवस्था झनै कमजोर बन्दै जाने भएकाले आर्थिक रुपमा गतिशिल भएर ओद्योगिक विकास, सुशासन, पारदर्शीता, उत्तरदायी भएर काम गर्न सुझाब दिए । उनले देशको मध्ये भागमा रहेको तिलोत्तमा सम्भावित क्षेत्र भएको बताउंदै तिलोत्तमा र बुटवललाई औद्योगिक क्षेत्रको विकास गरेर आर्थिक अबको रुपमा विकास गर्नने बताए ।
कार्यक्रममा रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डेले उद्योगी व्यवसायीका समस्या उजागर गर्दै अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई बलियो बनाउन नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।





















