देवदहले बुटवललाई हरायो

प्रकाश न्यापौने
भैरहवा, बैशाख २४ गते । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा देवदह क्रिकेट युनिटले बुटवल राइनोजलाई हराएको छ ।

देवदहले बुटवललाई ४३ रनले सहजै पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले मौसमका कारण २५ ओभरमा छोट्याइएको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३६ रन जोड्यो । उसका लागि सुमन पाण्डेले ७४ रनको अर्धशतकीय पारी खेल्दा सन्देश १६ रन बनाए ।

बलिङमा बुटवल राइनोजका नितिन त्रिपाठीले ३, शिव कुँवरले २ तथा सुमित थापा, प्रमिस पुन र हार्दिक बरईले १–१ विकेट लिए ।
बुटवल राइनोज २३ ओभर २ अलआउट हुँदै जम्मा ९३ रन बनायो र हार बेहोर्यो । उसका लागि सुरज सारुले ३७, ११ तथा सनित श्रेष्ठ र हार्दिक बरईले समान १०–१० रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले हार भोग्यो । बलिङमा देवदहका शशिधर टण्डनले ४, सन्देश पन्थीले ३, कृष्ण पराजुलीले २ तथा सुदीप अर्यालले १ विकेट लिए ।

खेलमा सुमन पाण्डे प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।