कृष्णनगरस्थित न्यू सेन्चुरी होटलमा देह व्यापारका गतिविधि, उद्योग वाणिज्य संघ र प्रहरीको संयुक्त छापा

कृष्णनगर । कपिलवस्तुको कृष्णनगरमा सञ्चालित केही होटलमा अनैतिक गतिविधि हुने गरेको स्थानीयले बताएका छन् । स्कुलको पोशाक लगाएका बालिका ल्याएर होटलमा होटल सञ्चालकले भारतीयसंग अनैतिक सम्बन्ध गराउने गरेको समेत स्थानीयले आरोप लगाएका छन् ।

होटलमा हुने योनजन्य धन्दाले कृष्णनगरको व्यापारिक र सामाजिक वातावरणमाथि प्रश्न चिन्ह खडा भएको भन्दै उद्योग वाणिज्य संघ कृष्णनगरले गलत क्रियाकलाप सदाका लागि बन्द गर्न आग्रह गरेको छ ।

उद्योग वाणिज्य संघ कृष्णनगरले आइतबार (आज) पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष रितेश शर्माले पर्यटन, व्यापार र होटल वयवसाय जस्तो मर्यादित क्षेत्रलाई केही व्यक्ति तथा होटलहरुले गलत काम गर्दा सबैको मानप्रतिष्ठामाथि आँच आएको बताए ।

पैसा कमाउने नाममा अनैतिक गतिविधिले सामाजिक वातावरणमा नकारात्मक प्रभाव परेको र कृष्णनगर बजारको प्रतिष्ठामा असर परेकाले गलत गर्नेलाई कडा कानुनी कारवाही गर्न अध्यक्ष शर्माले माग गर्दै कृष्णनगर क्षेत्रमा अनैतिक यौनजन्य गतिविधि बढ्दै गएको तथा नाबालिग स्कुले बालबालिकालाई पनि अनैतिक काममा प्रयोग गरिनु जघन्य अपराध भएको बताए । पर्यटन, व्यापार तथा होटल व्यवसायजस्ता मर्यादित क्षेत्रलाई गैरकानुनी र सामाजिक रुपमा अस्वीकार्य गतिविधिको माध्यम बनाइनु निन्दनीय कार्यले समाज दुषित भएको भन्दै अध्यक्ष शर्माले आक्रोस पोखे ।

अध्यक्ष शर्माका अनुसार कृष्णनगरस्थित पुरानो बसपार्क नजिकै रहेको न्यू सेन्चुरी होटल रेस्टुरेन्ट एण्ड लजमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा अनुगमन तथा निरीक्षण गरिएको थियो । अनुगमन तथा निरिक्षण गर्दा उक्त होटलमा सामाजिक मर्यादाविपरीत गतिविधि गरेको भेटियो ।

हामीसँग अनैतिक गतिविधिमा संलग्न भएकाहरुको भिडियो फुटेज सुरक्षित छ, आवश्यक परेमा प्रशासन दिन सकिने अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा बताए । यस्तो अनैतिक काममा संलग्न व्यक्ति तथा होटल सञ्चालकमाथि कानुन बमोजिम कारबाही हुनुपर्छ । साथै होटल तथा लजहरुको नियमित अनुगमन गरी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष शर्माले प्रहरीलाई पटक पटक जानकारी गराउँदा पनि प्रभावकारी अनुगमन तथा नियन्त्रणमा चासो नदिएको गुनासो गरे । यस्ता अनैतिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनैतिक काम रोकौं भन्दा प्रहरी प्रशासन मौन हुनुको कारण बुझ्न सकिएन ।

होटल तथा व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव प्रसाद घिमिरेले केही होटलमा गरिने गलत कार्यका कारण समग्र व्यवसायमाथि प्रश्न चिन्ह खडा भएको बताउँदै व्यवसायलाई मर्यादित बनाउन आग्रह गरे । अनैतिक काम गराउने व्यवसायीलाई पटकपटक सचेत गराईएको र यस्ता कामहरु दोहोरिएकाले अब कानुनी कारबाहीका सिफारिस गर्ने अध्यक्ष घिमिरेले बताए ।

शान्ति पुनःस्थापना गृहका जिल्ला सुपरभाइजर दिनेश तिमिल्सिनाले सीमा क्षेत्रबाट भारततर्फ जाने महिला तथा बालबालिकाको नियमित निगरानी गरेर प्रभावकारी काम गरिएपनि केही होटल सञ्चालकहरुले गरेका अनैतिक कामले जटिल समस्या थपिएको बताए । सुपरभाइजर तिमिल्सिनाका अनुसार मासिक ३० देखि ४० जनासम्म महिला तथा बालबालिकाको उद्धार हुने गरेको बताए ।

साना हात नेपालकी सीमा निगरानीकर्ता भीमा परियारले यसअघि पनि उक्त होटलबाट केही बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको बताइन् । फेरी पनि उही होटल उस्तै धन्दा चलाएको पुष्टि भएपछि हामीले सम्बन्धित निकायलाई कारबाहीका लागि माग गर्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले कृष्णनगर क्षेत्रका होटलहरुमा अवैध गतिविधि भइरहेको गुनासो आएपछि निगरानी बढाइएको र यस्ता गलत प्रकार गतिविधिहरु रोक्ने प्रतिबद्दता जनाए । हामीले शनिबार साँझ छापा मारेर होटल सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएका छौं, डीएसपी सिंहले भने ।

स्थानीय अगुवा सुदीप त्रिपाठीले कृष्णनगर बजारलाई नै दूषित गराउने गरी केही होटलमा अबैध प्रकारका योनजन्य धन्दा हुने गरेको प्रमाण भेटिएको र यस्ता अबैध धन्दा चलाएर पैसा कमाउनेहरुलाई होटल सञ्चालन गर्न नदिने गरी कारबाही गरिनुपर्ने बताए ।

यसअघि पनि सोही होटलमा यैनजन्य धन्दा गराएको पुष्टि भएपछि उक्त होटलको नाम परिवर्तन गरेर अहिले न्यू सेन्चुरी होटल एण्ड लज नाम राखी सञ्चालन गरिएको बताइएको छ । यसबारे होटल सञ्चालकसँग बुझ्न खोज्दा होटल सञ्चालकसँग सम्पर्क हुन सकेन ।