प्रकृतिको ध्वंसले चुनढुङ्गा उत्खनन्प्रति विकर्षण


पदम के.सी.

अर्घाखाँचीको नरपानी–खाँचीकोट क्षेत्र दुई कारणले सधैं चर्चामा रहन्छन् ः पर्यटन र चुनढुङ्गा उत्खनन्। सन्धिखर्क नगरपालिकाका यी दुई वडाहरू आपसमा जोडिएका छन्। दुवै वडा महाभारत पर्वत शृङ्खलाभित्र पर्दछन्। २०७० सालदेखि चुनढुङ्गा उत्खनन् भइरहेको क्षेत्र तीनपाने र प्रसिद्ध सुपादेउराली मन्दिर सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्दछन् भने नरपानी ती दुवै क्षेत्रको नजिकै अवस्थित छ।
नरपानी र खाँचीकोट सुपादेउराली मन्दिरको नजिक मात्र नभई आफैंमा लुम्बिनी प्रदेशका महत्वपूर्ण हिल स्टेशनका रूपमा विकास हुँदै गएका क्षेत्र हुन्। समुद्री सतहदेखि करिब २,३०० मिटर उचाइमा रहेका कारण यहाँको चिसो र स्वच्छ हावापानीले नेपालका मात्र नभई भारतका पर्यटकहरूलाई समेत आकर्षित गरेको छ।


घुम्न आउनेहरूको संख्या प्रत्येक वर्ष बढ्दो छ। भारतीय पर्यटकहरू विशेष गरी गर्मी छल्न गर्मीयाममा बढी आउँछन् भने नेपाली पर्यटकहरू सुपादेउराली मन्दिरको दर्शन तथा हिमाली शृङ्खलाको दृश्यावलोकनका लागि वर्षभरि आउने गर्छन्।
बढ्दो पर्यटकीय गतिविधिले यहाँको कृषि क्षेत्रलाई समेत उकास्दै लगेको छ भने आतिथ्य क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना भएका छन्।
नरपानी क्षेत्रमा दुई ठूला रिसोर्ट सञ्चालनमा छन् भने थप दुई रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा रहेका छन्। त्यस्तै, तीनवटा ठूला रिसोर्ट निर्माणाधीन अवस्थामा छन्। ती बाहेक सुपादेउराली नजिकैको लाहुरे बजार र नरपानी धारामा दर्जनौं साना होटल तथा खाजा पसलहरू सञ्चालनमा छन्।
पर्यटकको चापलाई मध्यनजर गर्दै नरपानीमा एउटा होमस्टे सञ्चालनमा छ, भने खाँचीकोटमा होमस्टे सञ्चालनको सम्भाव्यता अध्ययन भइरहेको छ।
नरपानी र खाँचीकोट दुवैतर्फ पर्यापर्यटनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। नरपानीतर्फ सुपादेउरालीको प्रसाद ग्रहण गर्न तथा वनभोज खान आउनेहरूको संख्या हजारौंमा पुग्छ भने खाँचीकोटतर्फ पनि सयौंको संख्यामा आगन्तुकहरू आउने गरेका छन्।
दीगो उद्यम र सेवाको सम्भावना भएकाले पछिल्लो समय खाँचीकोट र नरपानीका युवा तथा महिलाहरू आतिथ्य क्षेत्रमा आकर्षित हुँदै गएका छन्। तर नरपानी र खाँचीकोटको बीचमा रहेको तीनपाने क्षेत्रको चुनढुङ्गा उत्खनन्प्रति भने विकर्षण बढ्दो छ। ध्वंसात्मक प्रकृतिका कारण चुनढुङ्गा उत्खनन् पर्यटन उद्यमसँग तुलनायोग्यसमेत रहन सकेको छैन। चुनढुङ्गा उत्खनन् उद्योग ढुङ्गा उपलब्ध हुँदासम्म मात्र अस्तित्वमा रहन्छ, तर पर्यटन दीगो प्रकृतिको उद्योग हो। यही कारणले सर्वसाधारणको रोजाइमा पर्यटन उद्योग पर्दै गएको छ।
पर्यटनले हजारौंलाई रोजगारी र स्वरोजगारी सिर्जना गरेको छ भने चुनढुङ्गा उत्खनन्ले केही दर्जन स्थानीय व्यक्तिलाई मात्र रोजगारी प्रदान गरिरहेको छ। उत्खनन्ले वातावरणमा पार्ने नकारात्मक प्रभावको तुलनामा प्राप्त आर्थिक लाभ नगण्य मान्नुपर्ने अवस्था सिर्जना भएको छ। पहाडको जैविक विविधता र प्राकृतिक सौन्दर्यतालाई बलि चढाएर खानीजन्य मरुभूमीकरणलाई अँगाल्न सकिने अवस्था छैन। चुनढुङ्गा उत्खनन्ले खानेपानीका स्रोतहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पारेको छ।
हाल चुनढुङ्गा उत्खनन् भइरहेको क्षेत्र दक्षिणतर्फ बग्ने सीतखोला र उत्तरतर्फ बग्ने मीखोलाको शिर अर्थात् जलग्रहण क्षेत्र हो। जलग्रहण क्षेत्र नै नष्ट भएपछि त्यसमा आधारित पानीका मुहानहरू सुक्ने तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन। सीतखोलामा पानीको प्रवाह क्रमशः घट्दै गएको छ। नजिकै रहेको नरपानी धाराको मुहानमा वर्षायाममा पानी धमिलो आउने गरेको छ भने पानीको मात्रा पनि घट्दै गएको छ।
त्यसैगरी, उत्तरतर्फ रहेको मीखोलाको शिर क्षेत्रबाट नरपानीको तल्लो जगततर्फ जाने खानेपानीका स्रोतहरू समेत उच्च जोखिममा परेका छन्। यही स्रोतका कारण त्यहाँको कृषि, विशेषगरी तरकारी खेती, जिल्लाको प्रमुख आपूर्तिकर्ताका रूपमा स्थापित भएको छ।
पानी वा खानेपानीको अभावमा पर्यटन उद्यमको कल्पनासमेत गर्न सकिँदैन। पूर्वमा रहेको नरपानी र पश्चिममा रहेको खाँचीकोट दुवैतर्फ पर्यटन उद्यम फस्टाउँदै गएको अवस्थामा बीचमा रहेको तीनपाने पहाडको विनाशले क्षेत्रलाई मरुभूमीकरणको दिशातर्फ धकेलिरहेको छ। कृषि र पर्यटनजस्ता दीगो आर्थिक आधार रोज्ने कि चुनढुङ्गा उत्खनन् जस्तो क्षणिक आर्थिक लाभमा रमाउने ? आज एउटा गम्भीर प्रश्न उब्जिएको छ।
नरपानी–खाँचीकोट क्षेत्र नेपालको प्रसिद्ध हिल स्टेशनका रूपमा विकास हुने प्रबल सम्भावना बोकेको क्षेत्र हो। विशेष गरी अग्लो र हरियालीले भरिएको नर्तनाचल पर्वत तथा सुपादेउराली मन्दिरको धार्मिक महत्त्वका कारण नेपालभरिबाट आन्तरिक पर्यटकहरूको आगमन बढ्दो क्रममा छ। साथै, उत्तर भारतसँग नजिकको दूरी र सहज पहुँचका कारण भारतका नैनीताल, मसुरी, शिमला, मनाली, कश्मीर वा सिक्किमको तुलनामा पनि यहाँ आउने पर्यटकहरूको संख्या निरन्तर वृद्धि भइरहेको छ।
गोरुसिङ्गे–सन्धिखर्क सडक दुई लेनमा स्तरोन्नति हुनेबित्तिकै नरपानी र खाँचीकोटमा पर्यटकहरूको चाप थेग्न हम्मेहम्मे पर्ने देखिन्छ। त्यस अवस्थामा फेरि पनि प्रश्न उठ्छ— भएका पानीका स्रोतहरूलाई समेत जोखिममा पारेर चुनढुङ्गा उत्खनन् गर्नुको अर्थ के छ ? समयमै सतर्क हुने कि कालिदासले जस्तै आफू बसेको हाँगै काट्ने मूर्खता दोहोर्याउने ?






















