प्रदेशमा वामपन्थीको सरकार बनाउन झलनाथ सक्रिय


बुटवल, साउन ३ गते । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरुबीच सहकार्य र एकता गरेर सरकार गठन गर्न सक्रियता देखाएका छन् ।

नेता खनालले प्रदेश सरकार गठनका क्रममा दक्षिणपन्थी शक्तिसँग टाढा रहेर वामपन्थीबीच सहकार्य र एकता गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
आइतबार जारी विज्ञप्तिमा उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै राष्ट्रियता, जनजीविका, जनअधिकार, छिमेकी सम्बन्ध तथा राज्यका निकायबीचको समन्वय कमजोर बन्दै गएको बताएका छन्।

देश जटिल राजनीतिक अवस्थामा रहेकाले लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू साझा उद्देश्यका साथ एकताबद्ध हुनुपर्ने उनको भनाइ छ। वरिष्ठ नेता खनालले पदलोलुपता, व्यक्तिगत स्वार्थ र सम्झौतावादी प्रवृत्तिले पार्टीको विश्वसनीयतामा थप क्षति पुग्ने बताउंदै वामपन्थी शक्तिहरूले आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सरकार गठनका लागि कुनै नयाँ राजनीतिक समीकरण बनाउनुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाई विस्तृत छलफल गर्न उनले नेतृत्वलाई आग्रह गरेका छन् ।























