भारी वर्षाको सम्भावना रहेकाले सचेत हुन आग्रह


बुटवल, साउन २ गते । साउन २ र ३ गते मनसुनी गतिविधि थप सक्रिय हुने र देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार साउन २ गते शनिबार र ३ गते आइतबार हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेश, बागमती, गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने अवस्था बनेको हो ।























