हाते ट्याक्टरपाएपछि कृषक उत्साहित

अर्घाखांची, असार २९ गते । अर्घाखाँचीमा वनको आम्दानीबाट कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएपछि कृषक उत्साहित भएका छन् । गोरुले दिनभर लगाउने काम ट्याक्टरले छोटो समयमै सम्पन्न गर्ने भएकाले खेत जोत्न, हिल्याउन र सम्याउन निकै सहज हुंदा कृषक उत्साहित भएका हुन् ।

शितगंगा नगरपालिका–१२ डोहोटे सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनको प्राप्त आम्दानीबाट कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको हो ।

उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै आएको डोहोटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रेशमराज बञ्जाडेका अनुसार कृषकलाई १० थान हाते ट्याक्टर वितरण गरिएको हो ।

एउटा हाते ट्याक्टरको मूल्य ६२ हजार रुपैयाँ रहेको छ, जसमा ३१ हजार रुपैयाँ सामुदायिक वनले व्यहोरेको छ भने बाँकी ३१ हजार रुपैयाँ सम्बन्धित कृषकले लगानी गरेको अध्यक्ष रायमाझीले बताए ।

समुदायको सक्रिय सहभागितामा वर्षौंदेखि वन संरक्षण गर्दै आएको र अहिले प्रतिफल गाउँलेले पाएको बताउंदै अध्यक्ष कडेलले भने – वनबाट उत्पादन भएको काठ तथा दाउरा बिक्रीबाट प्राप्त आम्दानीलाई कृषकको उत्पादन वृद्धि र आयआर्जनमा लगानी गरेका हौ ।

गाउँमा युवा जनशक्तिको अभावसँगै हल गोरु पाल्ने किसानको संख्या घट्दै जांदा रोपाइँ तथा खेतीवाती लगाउन समस्या भएकाले यस विषयमा पनि सामूदायिक गम्भीर छ, भने सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष कडेल ।