प्यूठानको गौमुखी ५ मा जनश्रमदान अभियान जारी

प्यूठान, असार २७ गते । प्यूठानको गौमुखी गाउंपालिका वडा नम्बर ५ खुंगमा खुङ्गाली जनश्रमदान कार्यक्रमले निरन्तरता पाएको छ ।
बरुणध्वज मल्ल वडाध्यक्ष भएदेखि सञ्चालन गरिएको खुङ्गाली जनश्रम – (हातेमालो) अभियान अन्तरगत गाउंमा सरसफाइ गर्ने र साना सडकहरु बनाउनेदेखि मर्मत गर्ने गरिएको छ ।


२०७९ सालको माघ महिनाबाट शुरु गरिएको यो अभियान अन्तर्गत २०८३ को असार २७ गते शनिबार १३६ औँ खुङ्गाली जनश्रम (हातेमालो) अभियान कार्यक्रम सम्पन्न भएको छ ।

विशेष गरेर गाउंको विकासमा टेबा पुराउन र आफ्ना गाउं टोलका सानातिना कामका लागि बजेटै चाहिन्छ र सरकारको कै मुख ताक्न पर्छ भन्ने मान्यताको अनत्यका लागि यो अभियान सञ्चालन गरिएको वडाध्यक्ष बरुणध्वज मल्लले बताए ।

अभियान चलाएर गथाउं टोलमा सरसफाई, सान गोरेटा बाटाहरु बनाईएको र खानेपानीको पनि सुधार गरिएको वडा नम्बर ५ की वडा सदस्य पुष्पा सुनारले बताइन । शनिबारको १३६ औं श्रृङ्गखला वडा सदस्य पुष्पा सुनार र शिक्षक चक्र सुनारको नेतृत्वमा सम्पन्न भएको हो ।


हरेक शनिबार गौमुखी गाउंपालिका वडा नम्बर ५ मा यो कार्यक्रम सञ्चालन गरिन्छ । हरेक घरबाट एक एक जनाले आआफ्नै घरबाट सरसफाईका लागि कुचो, बाटा बनाउनका लागि कोदो, गैची, फरुवा र आवश्यक अनुसारका घरायसी औजार ल्याएर आउने गर्दछन् ।

यो अभियानले गाउंघरको सरसफाइ र साना तिना कामहरु भएका छन्, भने आफ्नो गाउं आफै बनाउन जनश्रमदानमा जुट्नु पर्छ भन्ने स्थानीय नागरिकमा भावनाको विकास भएको वडाध्यक्ष बरुण मल्लले बताए ।