पुष्पलाल स्मृति दिवस मनाईयो

बुटवल, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवस आज बिहीबार विविध कार्यक्रम गरी मनाईएको छ । कम्युनिष्ट पार्टीहरुले आआफ्नै ढंगले कार्यक्रम गरी स्मृति दिवस मनाएका छन् ।

विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी सहिद गङ्गालालको भाइ हुन् । पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए ।

विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्य मिलेर पुष्पलालले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए । नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संगठन गरेका थिए ।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राखेका थिए । उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको हो ।