अखिल नेपाल शिक्षक संघ दाङको आठौं जिल्ला परिषद् सम्पन्न

महेश रिजाल
भालुबाङ, साउन २६ गते । सबै नेपाली शिक्षक एक होऔं भन्ने मूल नाराका साथ अखिल नेपाल शिक्षक संघ दाङ देउखुरीको आठौं जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रम आज लमहीमा सम्पन्न भएको छ । जिल्ला समिति दाङ देउखुरीका अध्यक्ष रुमाल प्रसाद बसेलको अध्यक्षतामा सम्पन्न परिषदको उद्घाटन अनेशिसंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष लालबहादुर भण्डारीले गरेका थिए ।

शहीदप्रति एक मिनेट मौनधारण गरी सुरु भएको परिषदमा आफ्नो तर्फबाट शुभकामना मन्तव्य दिंदै उनले देशका सबै शिक्षकहरु एकजुट भई राज्यका गलत शिक्षा नीतिका विरुद्ध उत्रनुको विकल्प नभएको बताए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य,अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य भानु जीएम र अनेशिसंघका पूर्व केन्द्रीय सदस्य कपिलदेव खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष एवं जनता मावि कालाकाटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महतारा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अनेशिसंघ दाङका जिल्ला उपाध्यक्ष तुल्सी भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव ठाकुर खनालले गरेका थिए ।
सचिव ठाकुर खनालले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएपछि राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल र प्रमुख अतिथि लालबहादुर भण्डारीले शैक्षिक तथा समसामयिक विषयमा प्रशिक्षण दिएका थिए ।