जुत्ता घरबाट ५ सय जोर जुत्ता विक्री, साढे ४ लाखको कारोवार

बुटवल, भदौ ११ गते । बुटवलमा जुत्ता घर सञ्चालन गरिएको छ । आगलागीका कारण केही समय बन्द रहेको जुत्ता घर मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर पुनः संचालन गरिएको हो ।

जुत्ता मेला सञ्चालनको लागि तयारी पुरा गरेर सञ्चालन गर्ने दिन आइतबार व्यवसायी व्यवसायीबीच केही समस्या उत्पन्न भएपछि सोमबारदेखि सञ्चालन गरिएको हो । जुत्ता मेला भन्ने शब्द हटाएपछि विवाद समाम्य भएको थियो । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले उद्घाटन गरेका थिए ।
जुत्ता घरबाट दुई दिनमा साढे ४ लाखको कारोवार भएको जुत्ता घरका सञ्चालक बाबुराम बञ्जाडेले बताए । पहिलो दिन २ सय जोर र दोस्रो दिन ३ सय जोर जुत्ता विक्रीबाट साढे ४ लाख आर्थिक कारोवार भएको सञ्चालक बञ्जाडेले बताए । सञ्चालक बञ्जाडेका अनुसार जुत्तामा उपभोक्ताको कार्कषण बढेको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घर सञ्चालन गरिएको छ । केही समयमा नै भवन बनाउने सञ्चालक प्रकाश भुसालले बताए ।

जुत्ता घरमा बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनिका ३० ब्रान्डका एउटै छानामुनी ३००० भन्दा धेरै भेराइटीका छन् । यसैगरी १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मेलाको आकर्षणको रुपमा स्थानीय उद्योगबाट उत्पादन गरिएको मजा दुई हजार ग्राहकलाई १ रुपैयामा उपलब्ध गराईएको सञ्चालक भुसालले बताए ।