सानै उमेरमा अभियान्ता बनेका “भरत“


बुटवल, ३१ भदौ । उमेरले २७ बर्ष पुगेका भरतजंग केसी (भरत क्षत्री ) नामले परिचित छन् । गुल्मीको धुर्कोट गाउंपालिका–६ स्थायी घर भएका क्षत्री बुटवलमा बस्दै आएका छन् । झट्ट हेर्दा अल्लारे युवक जस्तै देखिए पनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशाला विभागमा ल्याब असिस्टेन्डमा कार्यरत छन् । 

सानैदेखि विभिन्न संघसंस्था र बुटवल आएपछि लियो क्लबमा जोडिएका भरत सामाजिक क्षेत्रको सेवामा उत्प्रेरित हुंदै कोभिड महामारीमा आफ्नो ज्यानलाई बाजी राखेर स्वाब संकलन र परिक्षणमा अभ्यस्त भए । कोरोनाको संकटकालमा लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा जागिरे भएका उनी त्यहाँका नामी स्वास्थ्यकर्मी भन्दा जोखिम उठाएर कोरोना संक्रमितहरुको रेस्क्यु, स्वाब परिक्षण र सान्त्वना प्रदान गर्नेमा आमनागरिकको नजरमा प्रियपात्र बने । उनी विरामीहरुले खोज्ने सेवकको रुपमा परिचित बने ।
सामाजिक कार्य र मानवीय सेवामा महत्वाकांक्षी राख्ने उनी बुटवलमा आएपछि समाजसेवामा थप प्रभावकारी रुपमा लाग्न आफुलाई प्रेरणासंगै लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको संस्थापक उपाध्यक्ष बनाइ दिएर थप जिम्मेवार अवसरदिएका समाजसेवी भुपेन्द्रबहादुर थापा क्षेत्री (हरी)को नाम लिन्छन् । भरत भन्छन्, हरि दाइ मेरो प्रेरणाको स्रोत मात्रै नभएर अभिभावक पनि हो । जसले गर्दा नागरिकको सेवामा लाग्नुपर्छ भन्ने ऊर्जा थपिएको छ ।
तत्कालीन कोरोनाकालमा अस्पतालमा आउने सामान्य व्यक्तिमात्रै होइन, मृत्यु भएका व्यक्तिहरुको शवबाट स्वाब संकलन गर्नु सामान्य कुरा थिएन । तर, उनी आंट जुटाएर काम गरिरहे । त्यो बेला उनलाई “कोरोना फाइटर“ का नामले चिनिन्थे ।

दशैं र तिहारको तामझामसमेत बिर्सिएर अस्पतालमै बसेर विरामीहरुको सेवा गर्ने एउटा जवानी भरिएको युवाका आफ्नै व्यक्तिगत कहानी पनि छन् । उनी भावुक हुँदै भन्छन्, म सानैदेखि धेरै आरोह अबरोह झेलेको अनुभव छ । म भुँइमान्छे हुँ, मलाई भुँइमान्छेहरुको सेवा गर्न उत्सुक हुन्छु । जुन कुरा मलाई मेरो हजुरबुबाले सिकाउनु भएको थियो । उनी हजुरबुबा सुनाएको अर्ती सम्झंदै भन्छन्, गलत बाटो हिड्न र गलत कार्य गर्न हुंदैन भन्ने केही मार्गदर्शन बुझेको छु ।
बुटवलका सडकपेटीलाई आफ्नो आश्रयको रुपमा लिदै आएका बेसाहारा बालबालिका र बेसाहारा नागरिकहरुलाई दुई बर्षसम्म निःशुल्क खाना अभियान चलाएर थप लोकप्रियता कमाएका थिए ।
नयाँ काम र योजना ल्याएर काम गर्न हौसिने भरतले बुटवल–तिनाउ सरसफाइ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरे । जुन कुरा बुटवलका लागि निकै अत्यावश्यक थियो । किशोरावस्थादेखि समाजसेवामा तत्लिन भएका उनले सरसफाइ अभियानलाई १ सय ५० हप्तासम्म निरन्तरता दिए । कुनै व्यक्ति वा संस्थासंस्थाहरुबाट सहयोग नलिएर आफ्नो खर्च कटाएर समाजसेवमा लागेको उनको भनाई छ ।
उनका अनुसार गुल्मीमा ६, कपिलवस्तु २ र रुपन्देहीको एउटा स्थानमा विशेषज्ञ डाक्टरहरुसहित बृहत स्वास्थ्य शिविर राखेर स्वास्थ्य परिक्षणको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच गराएको, गुल्मीको दुई ठाउँ र रुपन्देहीको तराई मधेसी समुदायमा “शहरमा भन्दा गाउँमा रक्तदान“ नामक जनचेतनामूलक कार्यक्रम राखेर रक्तदाताहरुको संख्या बढाउन काम गरेको, विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न विद्यालयहरुमा विद्यार्थीहरुसँग ट्राफिक सचेतना, जेब्रा क्रसिङ, लागूऔषध दुव्र्यसनी र डेंगी सम्बन्धित अभिमुखिकरण जस्ता कार्यक्रम पस्केर समाज रुपान्तरणमा लागिरहेको उनी बताउँछन् ।
जागिरे समयमा खटिएरसमेत समाजसेवामा होमिएका उनले “जाडोमा न्यानो मायां अभियान“ चलाएर विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरे, शिक्षाबाट बञ्चित भएकाहरुलाई पढ्ने वातावरण मिलाएर शैक्षिक सामाग्री प्रदान गरेर सानै उमेरमा आफुलाई सामाजिक अभियान्ताको रुपमा चिनाउन सफल भएरै गुल्मी सेवा समाज दुबईबाट सम्मान पाए ।
पछिल्लोसमय विद्यार्थीलाई रक्त समूह परिक्षण अभियान यसले प्रत्यक्ष रक्तदाताहरुको संख्या बढाउन र रक्तदान गर्नुको फाइदाका विषयमा जानकारी गराउँदै आएका उनलाई समाज रुपान्तरणमा अतुलनिय भूमिका निभाएको भन्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट पनि सम्मानित भए भने आफ्नो जन्मदिनलाई हरेक बर्ष रचनात्मक तरिकाले मनाउने गर्दछन् ।






















