विपुल भन्छन् बोल र मन खोल


बुटवल, असोज ९ गते । लामो समयदेखि पत्रकारिता गर्दै आएका नेपाल पत्रकार महासंघका अध्यक्षसमेत बनेका अध्यक्ष विपुल पोखरेलले नयां गीत सार्वजनिक गरेका छन् । शालि र भद्र स्वभावका पत्रकार पोखरेलले केही दिन अघि ‘बोल मन खोल‘ बोलको गीत बजारमा ल्याएका छन् ।

विगतमा पनि बेला बेला कविता गीत गजल लेख्दै प्रकाशन र रेकर्डिङ गदै आएका दाङ घोराही निवासी पत्रकार विपुल पोखरेलले ‘बोल मन खोल‘ बोल गीतबाट पछिल्लो समय चर्चा कमाएका छन् ।जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत दिएका छन् ।
पत्रकार पोखरेलका करिब आधा दर्जन गीतहरू रेकर्ड भएर सार्वजनिक भई सकेका छन् । गीतको भिडियोको संयोजन सञ्चारकर्मी सुदन थापाले गरेका हुन् । यसो त पोखरेलका पिता राजनीतिक विश्लेषक विनोद पोखरेल पनि अब्बल लेखक एवं साहित्यकार हुन् ।

पोखरेलले लेखेको ‘हाँस्नु पनि जीवन रैछ, रुनु पनि जीवन ’ बोलको गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायक शिशिर योगीको स्वर रहेको छ । यस्तै ‘बदल्नलाई मेरो समाज’ बोलको अर्को गीतमा गोविन्द मधुर आचार्यको स्वर सङ्गीत रहेको छ ।
पत्रकार एवं गीतकार विपुल पोखरेलका साठीको दशकमै आधुनिक सुगम सङ्गीततर्फ तीन गीत रेकर्ड भएर सार्वजनिक भैसकेका थिए । अपेक्षा नामक एल्बम संग्रहीत प्रकाश रेग्मीको स्वरमा रहेको ‘पसिना नै नदी बनोस् ’ ‘जून भित्र सुन होला ’ र माधव चौधरीको स्वरमा रहेको ‘अगेनोमा भाँडो बस्यो ’ बोलको गीत स्थानीय रेडियो मार्फत दैनिक जसो बज्ने गीत थिए । संयुक्त एल्बमका रूपमा सार्वजनिक उक्त एल्बममा अहिलेका व्यवसायीक प्रसिद्ध गीतकार लोकराज अधिकारीका पनि दुई गीत संग्रहीत थिए ।
नयाँ गीत सार्वजनिक भएपछि पाखरेलको प्रतिक्रिया छ ‘म आफैँमा व्यावसायिक गीतकार त होइन कहिलेकाहीँ लेख्ने गर्छु । आफूलाई फुर्सदको गीतकारका रूपमा लिने उनको भनाइ छ । पत्रकार विपुल पोखरेलका गीतमा माया प्रेम भन्दा बढी जीवन दर्शन र जीवनका भोगाई समेटिएको छ । जीवन जगतलाई गीतको माध्यामबाट बाहिर ल्याउने खोजिएको छ । अहिले उक्त गीतले बजारमा चर्चा पाएको छ ।






















