नेक्सस रुपन्देही र भारतको लाइफ केयर क्रिकेट क्लब सेमिफाइनलमा


भैरहवा, कार्तिक ६ गते । रुपन्देहीको भैरहवामा जारी क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही–११ नेपाल र भारतको लाइफ केयर क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । भैरहवामा वीपी कोइराला स्मृति कप टी–२० अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता जारी छ ।

मंगलबार भएको खेलमा नेक्ससले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी माथि ७ विकेट र भारतको लाइफ केयरले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई १ सय १४ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि पाएको १ सय २१ रनको लक्ष्य नेक्ससले १७ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो ।
नेक्ससको जितमा शंकर रानाले ३७, मिर्नाल गुरुङले २६, आकाश त्रिपाठीले अविजित १९, विपिन विक्रम शाहीले १६ र वसिर अहमदले नटआउट १५ रनको योगदान दिए । बलिङमा साइक्यू क्रिकेट एकेडेमीका सहदाज रहमान, अकस शाहउद्दिन र शाहबाज चाहउहाले समान १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यू क्रिकेट एकेडेमीले निर्धारित खेलमा ९ विकेटको नोक्सानीमा १ सय २० रन बनायो । उसका लागि मोहद उमारले ३६, साद इन्ब मोशरफले २९, मुनिम सानरिअर र तनिर हुसेन रानाले समान ११–११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नेक्सस रुपन्देहीका बसिर अहमदले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै, दिपेश कँडेल र शाहब आलमले समान २–२ तथा कृष्ण कार्कीले १ विकेट हात पार्न सफल भए । खेलमा वसिर अहमद म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको भारतको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ३६ रनको विशाल योगफल बनायो । उसका लागि दीपक पुनिया र राजेश शर्माले अर्धशतकीय पारी खेले । दीपकले ६६ र राजेशले ६१ रन बनाए । यस्तै, जस्मित नैनले अविजित ३३, दीपांन्सुले २३ रन जोडे । बलिङमा श्रीलंका राज्य सेवाका इन्दुमल प्रसाद र रवि किरणले २–२ तथा तुसाराले १ विकेट लिए ।जवाफी ब्याटिङ गरेको श्रीलंका राज्य सेवा ८ विकेट गुमाउँदै १ सय २२ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि विनोद कुमारले २३ र तुसाराले २१ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४, रोहित डङ्गाल २ तथा योगेश कुमार र दीपक पुनियाले १–१ विकेट लिए ।
दीप पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे । नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ ।





















