रुपन्देही व्यापार संघको रजत महोत्सव,मानवसेवा आश्रममा आश्रीतलाई खाद्यान्न र न्यानो कपडा वितरण

बुटवल, कार्तिक २२ गते । रुपन्देही व्यापार संघको रजत महोत्सव साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन विहिवार मानवसेवा आश्रम बुटवलको सुख्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रित २ सय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
तिलोत्तमाको पश्चिम पहुनीमा रहेको मानवसेवा आश्रममा आयोजित खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रमको सुभारम्भ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण पानसमा वत्ति बालेर गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख खाणले मानवताको सेवा जिवनको सर्वोत्तम कार्य भएको बताउदै समाजमा हराउदै गएको मानव सेवाभावलाई जागृत गर्ने गरि आश्रममा रुपन्देही व्यापार संघले आयोजना गरेको सहयोगको कामले सबैलाइै प्रेरणा मिलेको बताए । नगरप्रमुख खाणले खस्कदो आर्थिक अवस्थामा पनि आर्थिक सहयोगको झोला बोकेर संघसंस्थाहरु समाजमा सक्रिय रहेको हुदा त्यसमा सहयोगि बनेर स्थानिय सरकार सबै साथमा रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले मानव सेवा आश्रम सञ्चालनका लागि भएको कामको स्मरण गर्दै आश्रममा रहेर जिवन विताउदै गरेका दिनदुखीहरुलाई सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघले सामाजिक उत्तरदायीत्व अन्तरगत यस प्रकारका कार्यक्रमहरु आयोजना गरिदै आएको उल्लखे गर्दै भोलीका दिनमा पनि मानव सेवाआश्रममा जोडिएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा आश्रमकि प्रदेश संयोजक सरु अधिकारीले समाजका हरेक वर्गको माया, सहयोग र उत्प्रेरणाले आश्रितहरुको सेवा गर्न पाएको बताउदै धेरै काम गर्न वांकी रहेको हुंदा सहयोागका लागि आग्रह गरे ।

संघका महासचिव फर्सुराम पन्थको सञ्चालन तथा कार्यक्रम संयोजक अर्जुन भट्टराईको स्वागतमा भएको कार्यक्रममा फेन्सी थोक वस्तुगत समिति, थान कपडा वस्तुगत समिति, व्याग वस्तुगत समिति र न्यूशिख होजियारी उद्योगको सहयोग र सहकार्य रहेको थियो ।

संघले यही कात्तिक २८ गते संस्था स्थापना भएको २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गर्दैछ । त्यस अवसरमा संघले यहि आज कात्तिक २२ देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाउने तयारी गरेको छ । साताव्यापी कार्यक्रमको पहिलो दिन २२ गते विहिबार मानवसेवा आश्रम बुटवलको सुख्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रीत २ सय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ भने २३ गते शुक्रबार रुपन्देहीमा व्यापारको ईतिहास र वर्तमान, सम्भावना र चुनौती विषयमा अन्तरमाध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ ।

२४ गते संघसंस्थावीच मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा २५ गते आईतबार संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता, २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गरिने कार्यक्रम रहेको छ ।

कार्तिक २७ गते प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ । रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते हुने छ ।