टी–ट्वान्टी विश्वकप सातौँ संस्करण कस्ले जित्ला ?

 

 

 

आईसीसी टी–ट्वान्टी विश्वकप सातौँ संस्करण सुरु भएको छ । टी–ट्वान्टी विश्वकप सन् २००७ बाट सुरु भएको हो । यो विश्वकपको पहिलो उपाधि भारतले जितेको थियो भने पछिल्लो उपाधि वेस्टइण्डिजले जितेको थियो । प्रत्येक २ २ बर्षमा आयोजना हुने यो विश्वकप २०१८ र २०२० मा भने आयोजना हुन सकेन । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हालसम्म ६ संस्करण सकिएको छ । कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा हालसम्मको सफल टोली वेस्ट इन्डिज हो । वेस्ट इन्डिजले दुईपटक उपाधि जितिसकेको छ ।

यी हुन् विजेताहरू
भारत (सन् २००७)
महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले सन् २००७ मा टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको थियो । दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो ।
भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा भारतले १५७ रनको लक्ष्य दिँदा पाकिस्तानले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५२ रन बनाएको थियो । भारतका लागि उक्त खेलमा गौतम गम्भीरले ५४ बलमा ७५ रनको अर्धशतकीय पारी खेलेका थिए ।

पाकिस्तानका मिसाव उल्लाहले ३८ बलमा ४३ रन बनाएका थिए । बलिङतर्फ भारतका इरफान पठानले ३ विकेट लिएका थिए । पाकिस्तानका लागि उमर गौलले ३ विकेट लिएका थिए ।

पाकिस्तान (सन् २००९)
पहिलो संस्करणको फाइनलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो संस्करणमा उपाधि उचाल्न सफल भयो । पाकिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तानले फाइनलमा श्रीलंकालाई ८ विकेटले हरायो । श्रीलंकाले दिएको १३९ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानका लागि फाइनल खेलमा शाहिद अफ्रिदीले ४० बलमा ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

इंग्ल्यान्ड (सन् २०१०_
विश्व क्रिकेटको शक्तिशाली राष्ट्र इंग्ल्यान्डले सन् २०१० मा पहिलोपटक टी–ट्वान्टी क्रिकेटको उपाधि जित्न सफल भयो । फाइनल खेलमा अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्डले उपाधि विजेता राष्ट्रहरूको तालिकामा आफूलाई स्थापित गरेको थियो ।

सेमिफाइनलमा श्रीलंकालाई ७ विकेटले हराएको इंग्ल्यान्डले फाइनलमा अष्ट्रेलियालाई पनि ७ विकेटले हराउँदै उपाधि उचालेको थियो । अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

वेस्ट इन्डिज (सन् २०१२)
टी–ट्वान्टी विश्वकप क्रिकेटको दुईपटकको विजेता टोली हो, वेस्ट इन्डिज । सन् २०१२ को फाइनल खेलमा श्रीलंकालाई हराउँदै वेस्ट इन्डिजले पहिलोपटक उपाधि उचालेको थियो । सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै वेस्ट इन्डिजले फाइनलमा स्थान बनाएको थियो ।

वेस्ट इन्डिजले फाइनल खेलमा श्रीलंकालाई ३७ रनले हराएको थियो । वेस्ट इन्डिजले दिएको १३८ रनको लक्ष्य दिँदा श्रीलंकाले १८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०१ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि मार्लोन समुयल्सले ५६ बलमा ७८ रन बनाएका थिए । श्रीलंकालाई सस्तैमा समेट्न भने सुनील नारायणले ३ विकेट लिएका थिए ।

श्रीलंका (सन् २०१४)
सन् २०१२ मा वेस्ट इन्डिजसँग फाइनलमा पराजित भएको श्रीलंकाले सन् २०१४ मा भारतलाई हराउँदै उपाधि जित्न सफल भयो । प्रतियोगिताका अघिल्लो संस्करणदेखि नै बलियो मानिएको श्रीलंकाले च्याम्पियन बन्न पाँचौँ संस्करण कुर्नुपरेको थियो ।

बंगलादेशमा आयोजना भएको प्रतियोगितामा श्रीलंकाले सेमिफाइनलमा वेस्ट इन्डिजलाई २७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो । भारतले दिएको १३१ रनको लक्ष्य श्रीलंकाले १७ ओभर ५ बलमा पूरा गरेको थियो ।

वेस्ट इन्डिज (सन् २०१६)
वेस्ट इन्डिजले सन् २०१६ मा दोस्रोपटक टी–ट्वान्टी क्रिकेटको उपाधि उचाल्यो । फाइनल खेलमा इंग्ल्यान्डले दिएको १५५ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा वेस्ट इन्डिजका मार्लोन समुएलले ६६ बलमा ८५ रनको अर्धशतकीय पारी खेलेका थिए ।