भारतीय प्रधानमन्त्री मोदीले भने– विकास र सुशासनको ऐतिहासिक जित

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राखेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन्

महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल गरेको छ । विपक्षी गठबन्धन महाविकास अघाडीले ४८ सिटमा जित हासिल गरेको छ । अन्यले १० सिट जितेको छ ।

त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जितेको छ । यहाँ जेएमएम एक्लैले ३४ सिट, कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले) ले २ सिट जितेको छ । झारखण्डमा विपक्षी भाजपा गठबन्धनले २४ सिट जितेको छ । अन्यले १ सिट जितेको छ ।

महाराष्ट्रमा भाजपाको ऐतिहासिक सफलता हो । यसअघिको निर्वाचनमा भाजपा गठबन्धनले २०७ सिट जितेको थियो भने अहिले २३ सिट फाइदा भएको छ । त्यस्तै कांग्रेस गठबन्धनले यसअघि ७८ सिट जितेकामा अहिले ३० सिट घाटा खाएर ४८ मा रोकिएको छ । झारखण्डमा भने भाजपालाई ६ सिट घाटा लाग्दा जेएमएस नेतृत्वलाई ९ सिट फाइदा भएको छ ।