शंकरनगर सामुदायिक वनमा अन्तरक्रिया


बुटवल, असार ७ गते । रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमाले वन सम्बद्र्धन प्रणालीमा आधारित वन ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ ।

सामुदायिक वनको बार्षिक कार्ययोजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, बिद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी संस्था, पत्रकार, सामाजिक संघ संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया भएको हो ।
अन्तरक्रिया कार्यक्रमका सहजकर्ता वन तथा वातवरण निर्देशनालयका महानिर्देशक प्रभात सापकोटाले बिरुवा उमार्ने, रोपण गर्ने, गोडमेल, काट्छाट, हुर्काउने र उमेर पुगेका रुखहरु कटान गर्ने बिधिबारे जानकारी गराए । बन सम्बद्र्धन प्रणाली अन्तर्गत सरपट कटान, छत्र, छनौट र मुना प्रणाली गरी चार प्रकारले गरिने बताए ।

महानिर्देशक सापकोटाका अनुसार सरपट कटान प्रणालीमा समग्र बन क्षेत्रलाई विभिन्न खण्डमा बिभाजन गरि प्रत्येक बर्ष कुनै एक खण्डमा माउ रुख कटान र नया बिरुवा रोपण गर्ने गरिन्छ भने छत्र प्रणालीमा बिउका लागि उच्च– गुणस्तरका माउ रुख राखेर अरु रुख कटान गर्ने र कटान गरिएको ठाउँमा बिरुवा रोपण गर्न सहजै सकिन्छ । छनौट प्रणालीमा परिपक्व रुखहरु कटान गर्ने, साना रुखहरुलाइ हुर्कने दिने वातावरण बनाउनुपर्ने र पातलो र सरसफाइ गर्ने गरिन्छ भने मुना प्रणालीमा विभिन्न प्रजातिका काटिएका रुखबाट पलाउने मुनाहरुको सरक्षण गर्ने गरिन्छ ।
शंकरनगर सामूदायिक वनमा करिव ४५ सय उपभोक्ता छन्, भने सामुदायिक वन ५८४.६ हेक्टरमा फैलिएको छ । वन क्षेत्र मध्ये ११८.४२ हेक्टर रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड र ११०.१९ हेक्टर वृक्षरोपण खण्डमा विभाजन गरिएको अध्यक्ष रविन्द्र बस्नेतले जानकारी गराए ।
सामुदायिक बनका अध्यक्ष रबिन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कांगे्रसका हरिलाल पाण्डे, एमालेका मिनप्रसाद पोखरेल, जनमुक्ती पार्टिका राधिका श्रीस, सामुदायिक बनका सल्लाहकार टिकानिधी गौतम, पूर्व अध्यक्षहरु केशवराज न्यौपाने, राम गिरी, उमानाथ कडेल, बनका उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्यलागयतले बन सम्बद्र्धन प्रणालीबारे जिज्ञासा राखेका थिए ।






















