बुटवलमा जारी प्रदर्शनीको भारतीय उद्योगीद्दारा अवलोकन


बुटवल, पुस १० । बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीको बिहीबार ६० हजारले अवलोकन गरेका छन् । बिहबिार विदा परेकाले पनि महोत्सवप्रति धेरै मानिले अवलोकन गरेको आयोजकहरुले बताएका छन् ।

रुपन्देही उद्योग संघले यही पुस ३ गतेदेखि स्वदेशही उत्पादन मात्रै प्रदर्शन गरी कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गरेको छ । यो प्रदर्शनी तथा महोत्सव पुस १७ गतेसम्म चल्ने छ । संघका कोषाध्यक्ष विशाल वेल्वासेले बिहीबार एकैदिन ६० हजार अवलोकनकर्ता प्रदर्शनी स्थलमा प्रवेश गरेकाले सबै क्षेत्रमा व्यवस्थापनको चुनौती भएको बताउनुभयो । ३ गतेदेखि अहिलेसम्म सबै भन्दा धेरै अवलोकनकर्ता एकै दिन प्रवेश गरेको बताए ।
प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार बिहीबार दिनभर र साँझ अबेरसम्म टिकट काउन्टरदेखि स्टललगायत कार्यक्रमस्थलमा सहभागीको व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो ।

एकैपटक ठूलो संख्या भएकाले व्यवस्थापनमा समस्या भएको हो तर थप जनशक्ति व्यवस्थापन गरेर चलायौं, दिनभर र राती अबेरसम्म स्टलधनीहरुको पनि राम्रो कारोबार भयो, पर्यटन व्यवसायीहरुकहाँ त टेक्ने ठाउँ नै थिएन, अरु स्टलहरुमा पनि ठूलो संख्यामा सहभागी भएर समस्या भयो, बालउद्यानमा पनि उस्तै चापले थियो ।
नियमित काउन्टरभन्दा बाहिर पनि बिहीबार दिनभरजसो अलग्यै काउन्टर राखेर बिक्रीको व्यवस्थापन गरिएको संघकी सचिव मन्जु भुसालले बताइन । सचिव भुसालका अनुसार दिनभर नै सबै काउन्टरमा थेगिनसक्नु भीड भएकाले अलग्यै ठाउँमा काउन्टर राखेर करिब ८ हजार टिकट बिक्री भएको र नियमित काउन्टरहरुमा राती अबेरसम्म टिकट बिक्री गरियो ।
बिहीबार एकैदिन थपिएको ठूलो संख्याको अवलोकर्ता र बिक्रीको आधिकारिक विवरण संकलन भइनसकेको भएपनि कारोबारको अंक पनि अहिलेसम्मको धेरै भएको संघका द्वितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन समितिका संयोजक युवराज आचार्यले बताए ।
पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भएपनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । बिहीबार दिनभर घाम लागेको र मौसमले पनि साथ दिएकाले अवलोकनकर्तालाई सहज भएको देखिएको थियो ।
महासचिव सुमन बस्यालले प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिरहेको जानकारी गराए । 
प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रचार प्रसार संयोजक किरण खरेल बताए ।
प्रदर्शनीमा मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु दैनिक सञ्चालन गरिएको छ ।
भरतीय उद्योगीद्दारा अवलोकन
भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले प्रदर्शनीको अवलोकन तथा अन्तरक्रिया गरेको छ । प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न शहरहरुमा रहेका औद्योगिक क्षेत्रका संस्थाहरुलाई भ्रमणको निमन्त्रणा गरेको थियो ।
सोही क्रममा यसअघि गोरखपुरको औद्योगिक क्षेत्रको एक टोलीले प्रदर्शनीको अवलोकन गरिसकेको थियो । बिहीबार गीडा औद्योगिक क्षेत्रका उद्योगीहरुको टोलीलाई प्रदर्शनीको अवलोकन तथा दुवै क्षेत्रमा उद्योगी व्यवसायीहरुलाई सहज बजार प्रबन्धनका विषयमा अन्तरक्रिया गरिएको प्रदर्शनीका प्रचार संयोजक ई किरण खरेलले जानकारी गराए ।
बिहीबार प्रदर्शनीमा देखिएको ठूलो उत्साहलाई देखेर भ्रमण टोलीका सदस्यहरुले उत्साहजनक सहभागिताले आफुहरुलाई उत्साहित बनाएको बताए । बिहीबारको भ्रमणमा गीडा औद्योगिक क्षेत्रको नेतृत्व गरेर आएका गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा निकै धेरै उत्साह नेपाली उद्योगी र अवलोककर्तामा पाएको बताए ।























