उद्योगीहरुका समस्यालाई सरलीकरण गर्न आग्रह

रुपन्देही उद्योग संघको टोलीद्वारा भन्सार विभागका महानिर्देशक र सिएनआईका पदाधिकारीसँग भेटघाट

 

बुटवल/रुपन्देही उद्योग संघको एक प्रतिनिधि मण्डलले उद्योगीहरुका समस्याहरुलाई लिएर भन्सार विभाग, काठमाडौंका महानिर्देशक तथा नेपाल उद्योग परिसंघ (सिएनआई)का पदाधिकारीसँग भेट गरी छलफल गरेको छ ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले भन्सार विभागका डिजी नारायण सापकोटा र डिडीजी अच्युत सिवाकोटीसँग भेट गरी उद्योगीहरुले भोगिरहेका भन्सार सम्बन्धी समस्याहरुका बारेमा जानकारी गराउँदै समाधान गर्न आग्रह गरेको छ ।
सो अवसरमा संघका अध्यक्ष पौडेलले नेपाली उत्पादनमूलक उद्योगहरुको विकास गर्न भन्सारमा रहेका समस्याहरुको नीतिगत र प्रक्रियागत सरलीकरणका लागि सरकार लाग्नुपर्ने बताउनु् भयो । उहाँले साना र मझौला व्यवसाय प्रवद्र्धनमा सुविधा दिनुपर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि स्वदेशमै पर्याप्त उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने, स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपर्ने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागु गरिनुपर्ने लगायतका सुझाव दिनु भएको थियो ।
अध्यक्ष पौडेलले सिमा क्षेत्रबाट हुने चोरी निकासी र अवैध कारोवारले नेपाली उद्योगहरुको उत्पादनको वजारमा प्रभाव पारेको उल्लेख गर्दै रिसाइक्लिन उद्योगको कच्चा पद्धार्थहरु भारततर्फ गैरहेको हुँदा त्यसलाई कडाईका साथ रोक्न आग्रह गर्नु भयो । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले प्रतितपत्र(एलसी)का विषयमा गरेको निर्देशनले उद्योगका कच्चा पद्धार्थ आयातमा बाधा उत्पन्न भएको जानकारी गराउँदै विलासिताका तयारी वस्तुहरु आयातका लागि चालिएको कदम प्रति ऐक्यबद्धता व्यक्त गरिएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले नेपाली वस्तुको उत्पादन र उपभोग दुवै बढाउन सस्तोमा वस्तु उत्पादन गर्ने अवसर सिर्जना गर्नुपर्ने बताउँदै भन्सारका कतिपय झन्झटिला प्रावधानले काम गर्न कठिनाई भएको हुँदा सरकारले सहज व्यवसायका लागि सहजिकरण गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा भन्सार विभागका डिजी नारायण सापकोटाले उद्योगीहरुले उठाएका र भोग्नु परेका नीतिगत तथा व्यवहारिक समस्याहरुको पहिचान गरी त्यसको समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले कतिपय कुराहरु माथिल्लो तहबाट नै समाधान गर्नुपर्ने अवस्था रहेकाले त्यसका लागि सरकारलाई दवाव दिन पनि आग्रह गर्नु भएको थियो ।
सो टोलीले नेपाल उद्योग परिसंघ (सिआईएन) का पदाधिकारी तथा महानिर्देशकसँग पनि भेटघाट गरि रुपन्देही जिल्लाका उद्योगीहरुका समस्याका बारेमा जानकारी गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको थियो ।
परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, हेमराज ढकाल, महानिर्देशक यादव पौडेलसँगको भेटमा उद्योग संघको टोलीले जिल्लामा रहेका उद्योगहरुले भोग्नु परेका समस्याहरुको समाधानका लागि सिएनआईले प्राथमिकतामा राखेर सरकारलाई दवाव दिने काममा अगुवाको भूमिका निभाउन अनुरोध गरिएको थियो ।
प्रतिनिधि मण्डलमा संघका अध्यक्ष माधव प्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, केवी मेटल उद्योगका संचालक उद्योगी खिमानन्द भण्डारीको सहभागिता रहेको थियो ।
त्यस अवसरमा नेपाल कै पहिलो सिलाई मेसिनको स्ट्याण्ड उत्पादक नेपाली उद्योग केवी मेटलका समस्याका बारेमा जानकारी गराइएको थियो । उद्योगी खिमानन्द भण्डारीले भारतिय उत्पादनमा कम भन्सारका कारण नेपाली उत्पादन धारासाही हुने अवस्था रहेको हँदा त्यसमा पुनरनविचार गर्न र नीतिगत रुपमा समाधान गर्न विशेष ध्यानाकर्षण गराउनु भएको थियो ।