सैनामैना मेमोरियलमा खेल सप्ताह जारी

बुटवल,पुस२६। रुपन्देहीको सैनामैना नगरपालिका १ मा सञ्चालित सैनामैना मेमोरियल स्कुलले आफ्नो २० औ अभिभावक दिवस तथा बार्षिक उत्सवको अबसर पारेर साताब्यापि बिभिन्न खेलकुद प्रतियोगिता सुरुवात गरेको छ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुंद भन्ने नाराका साथ विद्यार्थीमा पढाईलेखाईका अतिरिक्त शारिरिक तन्दुरुस्तिका लागि खेलकुद प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य जे बि क्षेत्रीले जानकारी गराएका छन्। विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीबीच बिभिन्न तहगत हिसावले सन्चालित खेलकुद प्रतियोगिताको औपचारिक रुपमा विद्यालयको खेलकुद परिसरमा उद्घाटन गर्दै प्राचार्य क्षेत्रीले विद्यार्थीलाई मानसिक शिक्षाका साथसाथै शारिरिक शिक्षाकोसमेत समान आवश्यकता रहनेहुंदा विद्यार्थीलाई खेलकुदमा सहभागिता बन्न आग्रह गरे।


आईतबारदेखि सन्चालित प्रतियोगिताको पहिलो दिन पूर्व प्रावितर्फ ब्यालून ब्लास्ट, निडिल रेस तथा तातो आलू प्रतियोगिताहरु सम्पन्न भएका छन्। भने प्राबि, निमाबि र माबितर्फ १०० मिटर दौड, हाई जम्प, सट पुट, टेबल टेनिस, ब्याड्निन्टन र भलिबल प्रतियोगिताका हिट राउण्डका खेलहरु सम्पन्न भएको र यि प्रतियोगिताहरुको फाईनल राउण्डका खेलहरु सोमबार सन्चालन गरिने विद्यालयका अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख डी बि खत्रीले जानकारी गराए।
बिद्यार्थीको प्रतियोगिताको समाप्ति पस्चात बिद्यालयको लोकप्रिय प्रतियोगिताको ५ औ श्रिन्खला पुरुषहरुका बिचको मैत्रिपूर्ण विद्यालय भर्सेज अभिभावक भलिबल प्रतियोगिता तथा महिला अभिभावकबीच कुर्ची डौड प्रतियोगिता आयोजना गरिने छ । विद्यालयले हरेक बर्ष माघ १५ गते विशेष समारोहको आयोजना गरी बार्षिक उत्सव मनाउंदै आएको छ । यस वर्ष पनि विद्यालय माघ १५ गते आफ्नो वार्षिकउत्सव मनाउने छ ।