समयको माग अनुसार कानुन परिमार्जन हुन्छ – प्रदेश मन्त्री

खुद्रा तथा किराना व्यवसायी संघमा पदहस्तान्त्रण

बुटवल,फागुन३०गते। लुम्बिनी प्रदेशका वन तथा भु–संरक्षण मन्त्री मन्त्री सुरेन्द्र हमालले मुल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जित गर्न सकिने बताए। मुल्यवृद्विले आमजनता मारमा परेको अवस्थामा मृल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जन गर्न सकिने मन्त्री हमालको भनाइ छ ।खुद्रा तथा किराना व्यवसायी संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित पदहस्तान्त्रण कार्यक्रममा बोल्दै मन्त्री हमालले कानुन कुनै गीता र बाईवल नभएकाले समयको माग र आवश्यक्ता अनुसार कानुन परिमार्जन गर्न सकिने बताए। ।उनले प्रदेश सरकार जनताका समस्याप्रति गम्भीर रहेकाले सरकारले जनपक्षीय कामलाई ध्यान दिएको दावी भने– नीजि क्षेत्रका समस्याप्रति प्रदेश सरकार जानकार छ। साना तथा किराना व्यवसायीका समस्या हल गर्न पहल गर्ने उनले प्रतिवद्वता जनाए। मन्त्री हमालले किराना व्यवसायीका लागि जग्गाको व्यवस्थापन मिलाउन सहमति जुटाउन राजनीतिक दलहरुलाई आग्रह गर्दै भवन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए। किराना व्यवसायीले मुल्यवृद्वि नियन्त्रण गर्न र खुल्ला सीमानाबाट हुने चोरी निकासी रोक्ने गरी कार्यक्रम ल्याउन सरकारसंग माग गरेका छन्।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेपा माओवादी केन्द्रका विनोद पहाडी, नेपाली कांगे्रसका हरि अर्याल, नेकपा एमालेका राजेन्द्र ढकाल, नेकपा एकीकृत समाजवादीका बालकृष्ण चापागाई, बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, रुपन्देही उद्योग संघका कृष्ण पराजुली, खुद्रा तथा किराना व्यवसायी रुपन्देहीका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, पूर्व अध्यक्ष कमला गौतम, गंगाप्रसाद न्यौपाने, व्यवसायी महेन्द्र पोखरेल लगायतले बोलेका थिए। ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता र महासचिव गोपालप्रसाद प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो। खुद्रा किराना व्यवसायी संघ बुटवलको १५ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट निर्वाचितहरुलाई पदहस्तान्त्रण गरिएको छ। किराना व्यवसायीका समस्या समाधान गर्न सबैको सहयोगबाट अगाडी बढ्ने ननिर्वाचित अध्यक्ष मोहन बस्यालले प्रतिवद्वता जनाए।