उद्योग क्षेत्रमा पुस्ता हस्तान्तरण गर्न सुझाव

रुपन्देही उद्योग संघद्वारा चितवनका युवा उद्यमीहरुलाई बुटवलमा स्वागत

 

 

बुटवल/रुपन्देही उद्योग संघले शनिवार एक कार्यक्रमको आयोजना गरि औद्योगिक भ्रमणमा रुपन्देही आएको चितवन युवा उद्यमी मञ्चको प्रतिनिधि मण्डललाई स्वागत गर्दै युवा उद्यमीहरुसंग अन्तरक्रिया गरेको छ ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले मुलुकको औद्योगिक विकासका लागि युवाहरुको प्रत्यक्ष सहभागिता र नेतृत्व आजको आवश्यक्ता भएको बताउनु भयो । उहाले उद्योग सञ्चालनमा युवा नेतृत्व तथा पुस्ता हस्तान्तरणबाट मात्र अब विकास हुने विश्वास व्यक्त गर्दै त्यसमा रुपन्देही उद्योग संघले सहजिकरणको भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष पौडेलले औद्योगिक विकास र उद्योगीहरुका समस्या विषयमा चिवतन उद्योग संघ र रुपन्देही उद्योग संघवीच विगत लामो समयदेखि सहकार्य हुदै आएको स्मरण गर्दै रुपन्देहीमा उद्योग स्थापना गरि व्यापार व्यवसाय गर्न चितवनका युवा उद्यमीहरुलाई आवहान गर्नु भएको थियो । पौडेलले रुपन्देही नेपाल मै उद्योग स्थापनाका लागि आर्कषण सहज क्षेत्र बन्दै गएको अवस्थामा चितवनका लगानीकर्ता उद्यमीहरुलाई सहकार्यको हात बढाउन अनुरोध गर्नु भयो ।


सो अवसरमा भ्रमण टोलीको नेतृत्व गर्नु भएका चितवन युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले समाज र देश बनाउनका लागि उद्योगको स्थापना जरुरी रहेको बताउदै त्यसलमा पुस्ता हस्तन्तरण जरुरी रहेको उल्लेख गर्नु भयो । कार्कीले नेपालको औद्योगिक क्षेत्र परम्परागत अवस्थामा चलिरहेको उल्लेख गर्दै अब उद्योग सञ्चालनमा युवाहरुले अग्रसरता लिनु पर्ने जिकिर गर्नु भयो ।
कार्कीले नेपालको उद्योग क्षेत्रमा पुस्ता हस्तान्तरण गर्ने कुरामा ढिलाई भएकोमा चिन्ता व्यक्त गर्दै युवालाई उद्योग क्षेत्रमा समाहित गर्न नसकिएमा नेपालको औद्योगिक गति सधै सुस्त रहने ठोकुवा गर्नु भयो ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको स्वागत तथा महासचिव हरि बहादुर खत्रीको सञ्चालनमा भएको कार्यक्रममा संघका सल्लाहाकार ऋषि बहादुर भण्डारी, काकस लालबहादुर थापा, चन्द्रकान्त खनाल, सुमन बस्याल लगायत बोल्नु भएको थियो ।
कार्यक्रममा युवा उद्यमीहरुले आफ्ना अनुभव तथा जिज्ञाशाहरु प्रस्तुत गरेका थिए । उनीहरुले राज्यका कतिपय निती तथा कार्यक्रमहरुले उद्योग क्षेत्रमा युवाहरुको सहभागितामा बाधा उत्पन्न भएको बताएका थिए । युवाका लागि प्रोत्साहान र उद्यमको वातावरण भएमा नेपालको औद्योगिक विकासमा ठोस काम हुन सक्ने धारणा उनीहरुको थियो ।
चितवन उद्योग संघ मातहत रहेको युवा मञ्चमा रहेको २५ सदस्यिय भ्रमण टोलीले रुपन्देहीका विभिन्न प्रकृतिका उद्योगहरुको स्थलगत अध्ययन अवलोकन गरेको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिनु भयो ।